सर्वोच्चको विवाद न्यायालयबाटै समाधान हुनुपर्छः नेता महत
नेपाली कांग्रेसका सहमहामन्त्री रामशरण महतले सर्वोच्च अदालतमा देखिएको विवाद अदालत आफैंले समाधान गर्नुपर्ने बताएका छन्।
ताप्लेजुङ सदरमुकाम फुङलिङमा बुधबार सञ्चारकर्मीसँगको कुराकानीमा यो विवादले न्याय सम्पादनमा समस्या सिर्जना गरेको बताए। “अहिले सर्वोच्च अदालतमा जुन विवाद छ, त्यसले न्याय सम्पादनमा समेत समस्या सिर्जना गरेको छ,” महतले भने, “यो न्यायालयको विवादको त्यही सर्वोच्चबाटै समाधानको निकास आओस् भन्ने हामी चाहन्छौं।”
अर्को प्रसङ्गमा उनले आगामी निर्वाचनपछि नेपाली कांग्रेसले बहुमत ल्याउने र कांग्रेसको एकल सरकार बन्ने बताए। महतले भने, “अब हुने स्थानीय तह, प्रदेश र सङ्घको निर्वाचनमा नेपाली कांग्रेसको बहुमत आउनेछ र कांग्रेसले नै सरकार निर्माण गर्नेछ।”
सहमहामन्त्री महतले कांग्रेस महाधिवेशन तोकिएको समयमै सम्पन्न हुने दाबी गरे।
पार्टी कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न पनि आह्वान गरे। महतले भने, “पार्टीको आसन्न महाधिवेशनको तयारीमा लाग्नुहोस्, महाधिवेशनको तयारी सँगसँगै निर्वाचनको तयारी पनि थाल्नुहोस्।”
नेकपा (एमाले) केपी शर्मा ओलीको नेतृत्वको सरकारले ताप्लेजुङको विकासमा महत्त्व नदिएको आरोप पनि महतले लगाए। तमोर कोरिडोरलाई सरकारले प्राथमिकतामा राखेर विकास गर्न आवश्यक रहेको उनको भनाइ छ। (रासस)