माओवादीहरू नै अहिले प्रचण्डलाई देख्न चाहँदैनन् : प्रभु साह
नेकपा (एमाले)का नेता प्रभु साहले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालप्रति माओवादीहरू नै आक्रोशित भएको बताएका छन्।
पूर्व माओवादी नेता साहले चितवनको माडीमा मंगलबार आयोजित कार्यक्रममा भने, “जति पनि माओवादी क्याडरहरू छन्, उनीहरूले प्रचण्डजीलाई देख्न पनि चाहिरहेका छैनन्।”
किसान–मजदूरको रगत–पसिनाबाट नेता बनेका दाहालले उनीहरूको कुरा गर्नै छाडेको साहको आरोप छ।
“झूटो कुरा बोल्ने र जनतालाई ठग्ने नेता हामीलाई चाहिएको छैन। कुनै वेला हामी प्रचण्डजीलाई साथ दिन्थ्यौं, उहाँका लागि रगत बगाउन पनि तयार थियौं,” साहले कार्यक्रममा भने, “उहाँको पछि किन लागिएछ भन्ने लाग्छ र त्यो सम्झिँदा लाज पनि लाग्छ।”