मुख्यमन्त्री आचार्यको प्रस्तावमा मत विभाजन हुँदै, यस्तो छ समीकरण
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको विश्वासको मतको प्रस्तावमाथि आज प्रदेश सभामा मत विभाजन हुन लागेको छ।
२ भदौमा नेकपा (एमाले) विभाजन भएपछि १० जना सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेका थिए। त्यससँगै अल्पमतमा परेका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन ५ कात्तिकमा प्रदेश सभामा विश्वासको मतको प्रस्ताव टेबुल गरेका थिए।
त्यो दिन प्रदेश सभामा प्रक्रिया अघि बढे पनि टुङ्गो लागेको थिएन। मुख्यमन्त्रीको विश्वासको मतको प्रस्तावमाथि मत विभाजन गर्न सभामुख प्रदीपकुमार भण्डारीले आजका लागि बैठक तोकेका हुन्। आज मध्याह्न १२ः३० बजे प्रदेश सभा बैठक बस्न लागेको छ।
मुख्यमन्त्रीको विश्वासको मतको प्रस्तावमाथि मत विभाजन गर्न सबै तयारी पूरा भएको प्रदेश सभा सचिवालयले जनाएको छ। यसका लागि पक्ष र विपक्षका सांसदको मत विभाजन गर्न दुई वटा कोठामा व्यवस्था गरिएको छ।
९३ सदस्यीय प्रदेश सभामा अहिले ९२ सदस्य छन्। विश्वासको मतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ। मुख्यमन्त्री आचार्यको पक्षमा एमालेका ४१ सांसद मात्रै देखिएका छन्।
विपक्षमा ५० सांसद छन्। जसमा नेपाली कांग्रेसका २१, नेकपा (माआवादी केन्द्र)का १५, नेकपा (एकीकृत समाजवादी) का १०, जनता समाजवादी पार्टी (जसपा)का तीन र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन्। एक सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विश्वासकाे मत दिने–नदिने भनी टुङ्गो लगाएको छैन।
आइतबार विपक्षी गठबन्धनको बैठकले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ। गठबन्धनले एकीकृत समाजवादीको संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने सहमति गरेको छ।
आचार्य मुख्यमन्त्री भएको तीन महीना मात्रै भएको छ। शेरधन राईले राजीनामा दिएपछि उनी १० भदौमा मुख्यमन्त्री भएका थिए।