रवीन्द्र मिश्रलाई कारबाही गर्न मिलन पाण्डेले बनाए समिति
अध्यक्ष रवीन्द्र मिश्रलाई कारबाही गर्न विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेको अध्यक्षतामा बसेको बैठकले समिति गठन गरेको छ।
शुक्रबार बसेको बैठकले अनुशासन उल्लङ्घनका घटनामा छानबिन गरी कारबाही गर्न आयोग गठन गरेकाे पाण्डे समूहका प्रवक्ता हरिप्रसाद भट्टले जनाएका छन्। पार्टीमा देखिएका समस्याको शुरूआत अध्यक्ष मिश्रले गरेको बैठकको ठहर छ।
विवेकशील साझा पार्टीको पाण्डे समूहले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पार्टीमा देखिएको यो सङ्कट र समस्याको शुरूवात पार्टी अध्यक्षले नै गरेको ठहर गर्दै यो बैठक पार्टी अनुशासन उल्लङ्घनका तमाम घटनाहरूलाई रोक्न, सुसंस्कृत राजनीतिको हाम्रो मुख्य अभीष्टलाई बचाउन र जो जोबाट अनुशासन उल्लङ्घनका घटनाहरू भएका छन्, सोमाथि छानबिन गरी दोषीलाई कारबाही गर्न पार्टी विधान दफा २९.२ बमोजिमको आशुतोष तिवारी प्रमुख रहेको न्याय तथा सुशासन आयोग गठन गर्ने निर्णय गरिएको छ।”
आयोगलाई एक साताभित्र छानबिन गरी कारबाही अघि बढाउन निर्देशन दिइएको छ। “आयोगलाई आफ्नो कार्यविधि बनाई पछिल्लो पाँच महीनाको अनुशासन उल्लङ्घनका घटनाहरूको एक हप्ताभित्र अनुसन्धान गर्ने, अभिलेखन गर्ने र सोही अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने समेत जिम्मेवारी दिइएको छ,” विवेकशीलको निर्णयमा भनिएको छ।
बिहीबार अध्यक्ष मिश्रको अध्यक्षतामा बसेको केन्द्रीय समितिले बैठकले संघीयता खारेज र धर्मनिरपेक्षतामा जनमत सङ्ग्रह गर्न माग गर्ने निर्णय गरेको थियो। बैठकले अध्यक्ष मिश्रको ‘मार्ग परिवर्तन (विचारभन्दा माथि देश)’ दस्तावेज पारित गरेको थियो।
आज पाण्डेको अध्यक्षतामा बसेको बैठकले भने त्यसलाई खारेज गरेको छ। बैठकले पाण्डे सहित सचिवालय सदस्यहरू केशव दाहाल, डा. राजेन्द्र पङ्गेनी र रन्जु दर्शनाद्वारा सार्वजनिक गरिएको ‘वैकल्पिक राजनीतिको मूल बाटो’ दस्तावेजलाई पारित गरेको छ।
विवेकशीलको निर्णयमा भनिएको छ, “संयोजक लगायत सचिवालय सदस्यहरूबाट प्रस्तुत वैकल्पिक राजनीतिको मूल बाटोलाई आजको राजनीतिक अभिव्यक्ति र कार्यदिशाका रूपमा स्वीकार गर्ने र अझ समृद्ध बनाउँदै जाने निर्णय गरियो। साथै, पार्टी अध्यक्षबाट प्रस्तावित दस्तावेज वैकल्पिक राजनीतिको मूल आशय र मर्म विपरीत आएको ठहर गर्दै त्यसलाई खारेज गर्ने निर्णय गरियो।”