दुई महीनामा विदेशी विनिमयको सञ्चिति ९२ अर्बले घट्यो, शोधनान्तर र चालू खाता दुवैको घाटा उच्च
देशको अर्थतन्त्रमा महामारीको प्रभाव मत्थर नहुँदै आर्थिक परिसूचकहरूले चुनौतीपूर्ण स्थिति आउन लागेको संकेत गरेका छन्।
नेपाल राष्ट्र ब्यांकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले चालू आर्थिक वर्षको पहिलो दुई महीना (भदौसम्म)मा अर्थतन्त्रका महत्त्वपूर्ण परिसूचक निराशाजनक रहेको देखाएको हाे।
राष्ट्र ब्यांकका अनुसार, विदेशी विनिमयको सञ्चिति भदौसम्ममा रु.१३ खर्ब ६ अर्ब ९५ करोड बराबरमा सीमित हुन पुगेको छ। यो गत असारकाे तुलनामा ६.६ प्रतिशत कम हो।
गत असार मसान्तसम्म विदेशी विनिमयको सञ्चिति रु.१३ खर्ब ९९ अर्ब बराबर थियो। दुई महीनाको अवधिमा अमेरिकी डलरमा पनि विदेशी विनियमको सञ्चिति ५.२ प्रतिशतले खस्किएको छ।
विदेशी विनिमयको सञ्चिति घट्दै जानु अर्थतन्त्रका लागि चिन्ताजनक स्थिति हो। विदेशी विनिमयको सञ्चिति घट्दै जाँदा विदेशबाट वस्तु तथा सेवा आयात गर्ने क्षमता घट्दै जान्छ। विदेशमा काम गर्न जाने नेपालीले पठाउने रेमिट्यान्स रकम घटेको तथा वस्तु आयात चुलिएका कारण देशको विदेशी विनिमयको सञ्चिति घटेको हो।
भदौसम्म रु.१ खर्ब ५५ अर्ब ३७ करोड रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको यही अवधिकाे तुलनामा ६.३ प्रतिशतले थोरै हो। गत वर्षको यही अवधिमा कोरोनाभाइरसको महामारीबीच पनि रेमिट्यान्स ८.१ प्रतिशतले बढेको थियो।
पछिल्ला महीनाहरूमा रहस्यमयी तरीकाले रेमिट्यान्स घटिरहेको छ। अर्कातिर, विदेशबाट हुने वस्तु आयात चुलिंदै गएको छ। अघिल्लो वर्षको यही अवधिका तुलनामा भदौसम्ममा आयात झण्डै ७६ प्रतिशतले बढेर रु.३ खर्ब ५२ अर्ब १४ करोड पुगेको राष्ट्र ब्यांकले जनाएको छ।
विदेशबाट यातायातका साधन, पेट्रोलियम पदार्थ, सुनचाँदी लगायतका वस्तुको आयात बढेको छ। यो अवधिमा निर्यात ११५ प्रतिशतले बढेर ४४ अर्ब ४ करोड पुगेको छ। निर्यातका तुलनामा आयात ठूलो भएकाले आर्थिक वर्षको पहिलो दुई महीनामै व्यापार घाटा रु.२ खर्ब ७० अर्ब नाघिसकेको छ। यो अघिल्लो वर्षको यही अवधिका तुलनामा ७०.८ प्रतिशत धेरै हो।
आयातका लागि धेरै रकम बाहिरिने तर देशको आम्दानी कम भएका कारण भुक्तानी सन्तुलन भनिने शोधनान्तर स्थिति भदौसम्ममा रु.८३ अर्ब ४१ करोड घाटामा पुगेको छ।
साउनमा शोधनान्तर स्थितिको घाटा रु.३८ अर्ब ७५ करोड थियो। त्यस्तै, भदौमा देशको चालू खाता पनि रु.१ खर्ब ६ अर्ब ७५ करोडले घाटामा पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा चालू खाता रु.२५ अर्ब १६ करोडले बचतमा थियो। केन्द्रीय ब्यांकका अनुसार, भदौमा उपभोक्ता मूल्यवृद्धि ३.४९ प्रतिशत छ। अघिल्लो वर्षको यही अवधिमा मूल्यवृद्धि ४.५२ प्रतिशत थियो।