विदेशी विनिमयको सञ्चिति घट्न थालेपछि सटहीमा कडाइ
विदेशी विनिमयको सञ्चिति घट्न थालेपछि राष्ट्र ब्याङ्कले विदेशी मुद्रा सटहीमा कडाइ गर्न थालेको छ।
१३ असोजमा सरकारले पर्यटक भिसामा खाडी मुलुक, सार्क राष्ट्र, मलेसिया र थाइल्यान्ड जाने नेपाली नागरिकले बोक्नुपर्ने न्यूनतम विदेशी विनियमको सीमा घटायो। यस अघि यी देशहरूमा जाने नेपालीले न्यूनतम ५०० अमेरिकी डलरसम्म बोक्नुपर्नेमा गृहमन्त्रीस्तरीय निर्णयबाट यो सीमालाई आधामा झारियो।
अब यी मुलुकमा जाने व्यक्तिले २५० अमेरिकी डलर वा सो सरहको विदेशी मुद्रा सटही गरेको प्रमाण देखाए पुग्नेछ। अध्यागमन कार्यविधि २०६५ मा गरिएको हेरफेर अनुसार, वाणिज्य ब्याङ्कहरूबाट मात्र विदेशी मुद्रा सटही गर्न सकिने र सटही गर्दा विदेश जाने व्यक्ति स्वयं उपस्थित भएर अनिवार्य आयस्रोत खुलाउनुपर्ने व्यवस्था समेत थपिएको छ। राष्ट्र ब्याङ्ककै सुझाव बमोजिम यस्तो परिवर्तन गरिएको ब्याङ्कका एक अधिकारीले बताए ।
नेपाल राष्ट्र ब्याङ्कले पनि परिवर्त्य विदेशी मुद्राको सटहीमा कडाइ गर्न ब्याङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेको छ। राष्ट्र ब्याङ्कले अधिकांश ब्याङ्कका सम्बन्धित अधिकारीहरूलाई डाकेर २०० डलरभन्दा बढी नगद सटही नगर्न निर्देशन दिएको छ।
राष्ट्र ब्याङ्कका प्रवक्ता देवकुमार ढकालले विदेशी मुद्राको सञ्चिति र नगद विदेशी मुद्रा पनि घट्न थालेकाले सटहीमा निरुत्साहित गर्न लागेको बताए। “विदेश जाने व्यक्तिलाई न्यूनतम मात्रै नगद विदेशी मुद्रा दिएर बाँकी कार्ड मार्फत सटही गरिदिन प्रोत्साहित गरेका हौं,” उनले भने ।
राष्ट्र ब्याङ्कले अहिले वैदेशिक रोजगारीमा जानेलाई २०० डलर र पर्यटन भिसामा जानेलाई १५ सय डलरसम्म सटही सुविधा उपलब्ध गराउँदै आएको छ। यो औपचारिक व्यवस्थामा कुनै संशोधन भने गरिएको छैन।
विदेशी विनिमयको सञ्चिति लगातार घट्न थालेपछि राष्ट्र ब्याङ्कले विदेशी मुद्राको खर्चमा कडाइ गर्न थालेको हो। गत साउनमा विदेशी मुद्राको सञ्चिति ११ अर्ब ४२ करोड अमेरिकी डलरमा ओर्लिएको छ। यो रकम अघिल्लो महीना, असारमा ११ अर्ब ७५ करोड डलर थियो। आयात ह्वात्तै बढेको र रेमिटेन्स घटेपछि विदेशी मुद्राको सञ्चितिमा चाप पर्न थालेको हो।
उच्च आयातका कारण देशको बाह्य क्षेत्र असन्तुलित हुन थालेपछि सरकारले आयातमा कडाइ गर्ने सङ्केत गरेको छ। विलासी वस्तु सहित कतिपय वस्तुको आयातमा कोटा तोक्ने वा पूर्ण रूपमा आयात रोक्ने तयारी सरकारले गरेको छ। सुनचाँदी, विलासी सवारी साधन, मदिरा लगायतको वस्तुको आयात रोक्ने व्यवस्थाका लागि अर्थ मन्त्रालयले छलफल गरिरहेको छ।
चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो महीना साउनमा रेमिटेन्स १८.१ प्रतिशतले घटेको छ। आयात चुलिएका कारण साउनमा शोधनान्तर स्थिति (देशको भित्रिने र बाहिरिने रकमबीचको अन्तर) रु.३८ अर्ब ७५ करोडले घाटामा पुगेको छ। दुई वर्षपछि गत जेठबाट शोधनान्तर स्थिति घाटामा जान थालेको हो।
त्यसैगरी, चालू खाता घाटा रु.४७ अर्ब ९० करोड पुगेको छ। भदौमा पनि आयात मत्थर नभएका कारण शोधनान्तर स्थिति थप घाटामा जाने अनुमान गरिएको छ।