एमाले बागमती प्रदेश इन्चार्जका रूपमा थापाको सम्बोधन
नेकपा (एमाले)मा सुदूरपश्चिम प्रदेश इन्चार्जको विवाद भइरहेको वेला बागमती प्रदेशमा पनि त्यस्तै विवाद देखिएको छ।
बिहीबार काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा रामबहादुर थापाले बागमती प्रदेश इन्चार्जका रूपमा सम्बोधन गरेका छन्।
एमालेमा भएको १० बुँदे सहमति अनुसार, २ जेठ २०७५ मा फर्किने तय भएको थियो। त्यस वेला एमालेमा जो जुन पदमा थिए, त्यही जिम्मेवारी दिने सहमति बनेको थियो।
त्यसका आधारमा उपाध्यक्ष भीम रावल सहितका नेताले माधवकुमार नेपालको साथ छोडेका थिए। नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन हुँदा उनीहरू एमालेमै बसेका थिए।
१० बुँदे सहमति अनुसार, एमाले २ जेठमा फर्किंदा सुदूरपश्चिमको इन्चार्ज रावलले नै हुन्थे। किनकि, २ जेठ अघि एमाले सुदूरपश्चिमको इन्चार्ज रावल नै थिए।
तर, अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)बाट आएका लेखराज भट्टलाई सुदूरपश्चिम इन्चार्ज तोकेपछि विवाद उत्पन्न भएको छ।
त्यस्तै, विवाद बागमती प्रदेशमा पनि शुरू भएको छ। बिहीबार काठमाडौंमा आयोजित एमालेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा थापाले बागमती प्रदेश इन्चार्जका रूपमा सम्बोधन गरेका छन्। माओवादी केन्द्रबाट एमाले प्रवेश गरेपछि अध्यक्ष ओलीले उनलाई इन्चार्जको जिम्मेवारी दिएका थिए।
२ जेठ २०७५ अघि भने एमाले बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य थिइन्। १० बुँदे सहमति कार्यान्वयन हुँदा उनी नै इन्चार्जमा फर्किनुपर्ने थियो।
कार्यकर्ता प्रशिक्षण कार्यक्रममा शाक्यलाई उपाध्यक्ष एवं प्रदेश मुख्यमन्त्रीका रूपमा आसन ग्रहण गराइएको थियो। उनले उपाध्यक्ष एवं मुख्यमन्त्रीकै रूपमा कार्यक्रमलाई सम्बोधन गरेकी थिइन्।
सम्बोधनका क्रममा पनि शाक्यले असन्तुष्टि प्रकट गरेकी छन्। उनले १० बुँदे सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिंदै भनिन्, “त्यसमा जालझेल आवश्यक छैन। २०७५ जेठ २ मा जो आउँछ, उसैलाई मानेर अगाडि बढौं।’