अनुकूल समयमा जिम्मेवारी हस्तान्तरण गर्छु : ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अनुकूल समयमा जिम्मेवारी हस्तान्तरण गर्ने बताएका छन्।
माधवकुमार नेपाल नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत चलिरहेका वेला एमालेले आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले आफू निर्विकल्प नभएको बताएका छन्। एक प्रश्नको जवाफ दिंदै उनले महाधिवेशनसम्म मात्रै आफू निर्विकल्प भएको बताए।
“म महाधिवेशनसम्मका लागि अध्यक्ष हुँ,” ओलीले भने, “म अनुकूल समयमा जिम्मेवारी हस्ताक्षरण गर्ने पक्षमा छु।”
अर्को व्यवस्था नभएसम्मका लागि र अहिले पार्टीमा कसैले चुनौती नदिएकाले अध्यक्ष रहेको उनको भनाइ थियो। “महाधिवेशनसम्मका लागि कसैले चुनौती दिएको छैन, दिनुपर्ने अवस्था पनि छैन,” ओलीले भने।
एमाले विभाजन सम्बन्धी सोधिएको एक अर्को प्रश्नमा जवाफमा उनले आफूलाई पनि दुःख लागेको बताए। एमाले एकजुट पार्न सक्दो कोशिश गरेको भए पनि केही स्वार्थी व्यक्ति अलग भएको उनको भनाइ थियो।
“एमालेको अध्यक्ष भएको नाताले, नेतृत्वमा भएका नाताले पार्टी विभाजनबाट रोक्न नसकिएकोमा दुःखी छु,” ओलीले भने, “मैले सक्दो कोशिश गरेको हुँ। केही स्वार्थी व्यक्तिहरू अलग भएका छन्। यसले एमालेलाई केही असर पर्दैन।”