माधव नेपालको पार्टीको नाम नेकपा (एकीकृत समाजवादी)
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) राख्न प्रस्ताव गरेका छन्।
शुक्रबार नेपाल पक्षले पार्टीको नयाँ नाम राखेर निर्वाचन आयोगमा निवेदन दिएको छ। नेपाल पक्षको निवेदन दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।
यसअघि नेपाल पक्षले २ भदौमा नेकपा (एमाले समाजवादी) पार्टी दर्ताका लागि निवेदन दिएको थियो। त्यो नाम नेकपा (एमाले)सँग मिल्दोजुल्दो भएको भन्दै आयोगले नयाँ नाम दिन सूचना दिएको थियो।
त्यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले पनि त्यो नाम दर्ता नगर्न आयोगलाई आग्रह गरेको थियो। त्यसका लागि दवाव दिन एमाले नेताहरू आयोगमा पुगेका थिए।
यससँगै जसपासँग मिल्दोजुल्दो नाम भएपछि महन्थ ठाकुरले पनि आफ्नो पार्टीको नाम फेर्ने भएका छन्। त्यसका लागि ठाकुर पक्षका नेता निर्वाचन आयोग पुगेका छन्।