एक वर्षमा ३ खर्ब २३ अर्बको कृषिजन्य वस्तु खरीद, चामल किन्न मात्रै ५० अर्ब बाहिरियो
विदेशबाट गत आर्थिक वर्ष २०७७/७८ मा रू.३ खर्ब २३ अर्ब ६६ करोड मूल्य बराबरको कृषिजन्य वस्तु खरीद गरिएको छ।
भन्सार विभागले प्रकाशित गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापारको तथ्यांक अनुसार, अहिलेसम्मकै उच्च परिमाणमा कृषिसँग सम्बन्धित खाद्य सामग्रीको आयात भएको हो। एकै वर्षमा कृषिजन्य वस्तुको आयात करीब एक तिहाइले बढेको देखिएको छ। आर्थिक वर्ष २०७६/७७ मा नेपालले रू.२ खर्ब ४३ अर्ब बराबरको कृषिजन्य वस्तु आयात गरेको थियो।
गत वर्षमा खाद्यान्नको आयात मात्रै रू. ७९ अर्ब ५९ करोड बराबर पुगेको छ। खाद्यान्नमध्ये पनि चामलको आयात मात्रै रू.५० अर्ब ७८ करोड मूल्य बराबर पुगेको छ। पछिल्ला वर्षहरूमा चामलको आयात आश्चर्यजनक ढंगले बढिरहेको देखिएको छ।
त्यसैगरी, रू.१६ अर्ब बराबरको मकै आयात भएको छ। गत वर्ष रू.३८ अर्ब ५० करोड मूल्य बराबरको हरियो तरकारी, रू.२१ अर्ब ३४ करोड बराबरको फलफूल र काजुबदाम, रू.९ अर्ब ४९ करोड बराबरको चिया कफी र मसला आयात भएको छ।
त्यस्तै, रू.८२ अर्ब ९० करोड मूल्य बराबरको तेल, रू.१२ अर्ब २६ करोड मूल्य बराबरको चिनी पनि आयात भएको छ।
कृषिप्रधान देश भने पनि हरेक वर्ष नेपालले कृषि उत्पादनको आयातका लागि ठूलो परिमाणमा रकम विदेश पठाउँदै आएको छ। गत वर्ष कृषिजन्य वस्तुको निर्यात रू. ८४ अर्ब ५ करोड बराबरको मात्र छ।
व्यापार घाटा रू. १३ खर्ब ९८ अर्ब
गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले वैदेशिक व्यापारमा रू.१३ खर्ब ९८ अर्ब ७१ करोड नोक्सान व्यहोरेको छ। गत आर्थिक वर्षको वैदेशिक व्यापारको तथ्यांक अनुसार, नेपालको व्यापार घाटा गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा २७.२६ प्रतिशतले बढेको हो।
गत आर्थिक वर्षमा नेपालले रू.१ खर्ब ४१ अर्ब १२ करोड मूल्य बराबरका वस्तु निर्यात गरेको छ। तर, आयात भने चुलिएर रू.१५ खर्ब ३९ अर्ब ८३ करोड पुगेको छ। आयातका तुलनामा निर्यातको हिस्सा करीब ११ प्रतिशत मात्रै हुँदा देशको अन्तर्राष्ट्रिय व्यापारको नोक्सानी उच्च बिन्दुमा पुगेको हो।
आर्थिक वर्ष २०७६/७७ का तुलनामा आर्थिक वर्ष २०७७/७८ मा निर्यात ४४.४३ प्रतिशतले बढेको छ भने आयात २७.६६ प्रतिशतले बढेको छ।
गत आर्थिक वर्षमा पहिलो पटक नेपालको निर्यात रू.१ खर्ब नाघेको हो। नेपालले लामो समयदेखि निर्यातलाई रू. १ खर्ब पुर्याउने लक्ष्य राख्दै आएको थियो।