बागमती प्रदेश सभामा ओली र नेपाल पक्ष एकै ठाउँमा
बागमती प्रदेश सभामा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल पक्ष एकै ठाउँमा उभिएका छन्। दुवै पक्षले सरकारको नीति तथा कार्यक्रम पारित गर्न सांसदलाई निर्देशन दिएका छन्।
शनिबार बिहान बसेको प्रदेश संसदीय दलको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल र नेत्री अष्टलष्मी शाक्यले दुवै पक्षका सांसदलाई सरकारको नीति तथा कार्यक्रम पारित गर्न निर्देशन दिएका हुन्। दुवै पक्षको संयुक्त बैठकले एकजुट भएर सरकारको नीति तथा कार्यक्रम पारित गर्ने निर्णय गरेको सांसद एवं एमाले केन्द्रीय सदस्य रचना खड्काले बताइन्।
अन्य प्रदेशमा एमालेभित्र विवाद भइरहेका बेला बागमतीमा संयुक्त बैठक बसेको हो। बैठकमा नेत्री शाक्यले बागमती प्रदेशमा उदाहरण बनेर जानुपर्ने बताएकी थिइन्। “सर्वोच्च अदालतको फैसला नमान्दा विवाद आएको हो,” नेत्री शाक्यले बैठकमा भनिन्, “अन्यत्र झगडा भए पनि बागमतीमा उदाहरण बनेर देखाऔं।”
मुख्यमन्त्री पौडेलले पनि एकजुट भएर सरकारको नीति तथा कार्यक्रम पारित गर्न सांसदलाई निर्देशन दिएका छन्। आज बागमती प्रदेश सभामा सरकारले नीति तथा कार्यक्रम पेश गर्न लागेको छ।
एमाले प्रदेश संसदीय दलको बैठक कांग्रेस बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यको विवादस्पद अभिव्यक्तिको विरोध गरेको छ। उनले आफ्नो भनाइ फिर्ता लिएर माफी माग्नुपर्ने एमाले प्रदेश संसदीय दलले जनाएको छ।