एसईई र कक्षा १२ को परीक्षा स्थगित
कोरोनभाइरसको संक्रमणका कारण यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ।
कोरोना कारण परीक्षा सञ्चालन गर्न नसकिने जनाउँदै राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। सोमबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले बताए।
कोरोनाको संक्रमण कम भएपछि परीक्षा गरिने उनले बताए। “अहिले अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेका छौं। अवस्था सामान्य भएपछि परीक्षा गर्छौ,” सदस्य सचिव अर्यालले हिमालखबरसँग भने।
एसईई परीक्षा १३ जेठबाट र कक्षा १२ को परीक्षा २६ जेठबाट सञ्चालन गर्ने तय भएको थियो।
गत वर्ष पनि कोरोनाका कारण परीक्षा प्रभावित भएको थियो। लामो समयसम्म परीक्षा सञ्चालन गर्न नसकिएपछि आन्तरिक मूल्यांकनका आधारमा परीक्षाफल तयार गरिएको थियो।
यस वर्ष कोरोनाको दोस्रो लहर चलेसँगै शिक्षा मन्त्रालयले अन्य परीक्षा स्थगित गरिसकेको छ। त्यस्तै, त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयले पनि सबै परीक्षा स्थगित गरिसकेका छन्।
कोरोनाको दोस्रो लहरका कारण देशका विद्यालय पनि बन्द छन्। कतिपय जिल्लामा निषेधाज्ञा पनि लागू गरिएको छ।