प्रधानमन्त्री ओलीले सर्वदलीय बैठकमा छलफल गरेका तीन अजेन्डा
नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बालुवाटारमा बाेलाएकाे सर्वदलीय बैठकमा तीन विषयमा छलफल भएकाे छ।
सर्वदलीय बैठकमा सहभागी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तीन वटा अजेन्डामा छलफल भएको बताए। उनका अनुसार, अमेरिकी सहयोग परियोजना (एमसीसी), सभामुख अग्निप्रसाद सापकोटाको भूमिका र कोरोनाभाइरस (कोभिड–१९) बारे छलफल भएको हाे।
सभामुख सापकोटाले अराजक र अनैतिक ढंगले एमसीसी रोकेर राखेको प्रधानमन्त्रीको गुनासो थियो। बैठकपछि एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले भने, “पारित गर्ने/नगर्ने संसद्को कुरा हो, सभामुखलाई एमसीसी रोकेर राख्ने तजबिजी अधिकार छैन।”
एमसीसी संशोधन गरेर भए पनि पारित गर्नुपर्ने कांग्रेस नेता पौडेलको धारणा थियो। “सभामुखलाई बिजनेस दिने काम सरकारको हो, त्यसकारण कार्यव्यवस्था परामर्श समितिमा सरकारले एमसीसी प्रस्तुत गरोस्,” पौडेलले भने, “एमसीसी सम्झौता कांग्रेसकै पालामा भएको हो।”
कोभिड–१९ को विषयमा प्रधानमन्त्री ओलीले सुझाव मागेको र त्यसमा सबै दलले आ-आफ्नो धारणा राखेको बैठकमा सहभागी राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जानकारी दिए।
नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) माधव नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई लगायत भने बैठकमा सहभागी थिएनन्। जसपाको तर्फबाट पार्टी अध्यक्ष महन्थ ठाकुर र नेता लक्ष्मणलाल कर्ण लगायत सहभागी थिए।