कर्णालीका तीन मन्त्रीको राजीनामा स्वीकृत, सरकार अल्पमतमा
कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले दिएको राजीनामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्वीकृत गरेका छन्।
नेकपा (एमाले)का तर्फबाट सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका थिए। तीनै जनाको राजीनामा स्वीकृत भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।
राजीनामा स्वीकृतिसँगै रिक्त रहेको आर्थिक मामिला तथा योजना र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीलाई दिइएको छ। यस्तै, सामाजिक विकास मन्त्रालयको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीलाई दिइएको छ।
एमालेको सहयोगमा तीन वर्षअघि शाही मुख्यमन्त्री बनेका थिए। २३ फागुनको सर्वोच्च अदालतको आदेशसँगै एमाले र माओवादी केन्द्र ब्युँतिएपछि सरकारमा सहभागी एमालेका मन्त्रीहरूले राजीनामा दिएका हुन्।
यससँगै मुख्यमन्त्री शाहीको सरकार अल्पमतमा परेको छ। अब राजीनामा दिने कि संसद्मा विश्वासको मत लिने भन्नेबारे मुख्यमन्त्री शाही अलमलमा छन्। उनले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्।
कर्णाली प्रदेश सभाको अधिवेशन आगामी ८ वैशाखभित्र बस्नुपर्ने संवैधानिक बाध्यता छ। यसअघिको अधिवेशन ८ कात्तिकमा अन्त्य भएको थियो। संवैधानिक व्यवस्थाअनुसार, ६ महीनाभित्र अधिवेशन बोलाउनुपर्छ।
कर्णाली प्रदेश सभामा ४० सदस्य छन्। जसमा एमालेका २०, माओवादीका १३, कांग्रेसका ६ र राप्रपाका १ सदस्य छन्। माओवादी सांसद धर्मराज रेग्मी एमालेका प्रवेश गरिसकेका छन्। उनलाई माओवादीले कारबाही गरेको छ।