केपी ओलीलाई माधव नेपालको प्रतिप्रश्न– प्रचण्डको ‘मतियार’ तपाईं कि म ?
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई पुष्पकमल दाहालको ‘मतियार’ भनिएकोमा कडा आपत्ति जनाएका छन्।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा सम्बोधन गरेर बिहीबार पठाइएको पत्रमार्फत पूर्वप्रधानमन्त्री नेपालले यस्तो विरोध जनाएका हुन्।
“नेकपाको विधान र नीति विपरीत तपाईंले उक्त प्रकारका अनधिकृत गतिविधि गरेकोमा त्यस्ता गलत कार्यलाई रोक्न पार्टीमा संस्थागत रूपमा भएका काम र तपाईं स्वयंको हस्ताक्षरमा कार्यकारी अधिकार प्राप्त अर्का अध्यक्ष प्रचण्डसमेत संलग्न कार्यक्रममा मेरो सहभागितालाई कसैको मतियार भएको देख्नु तपाईंको व्यक्तिवादको अभिव्यक्ति मात्रै हो भनी किन नभन्ने ?” नेपालले लेखेका छन्।
आठ पृष्ठ लामो पत्रमा उनले भनेका छन्, “यदि तपाईंको जस्तो दृष्टिकोण राख्ने हो भने पार्टी एकताको पूर्वसन्ध्यादेखि प्रतिनिधि सभाको विघटनसम्मको अवधिमा तपाईंले प्रचण्डसँग गर्नुभएका सम्झौता, निरन्तर गर्ने गरेको गोप्य बैठक र सहकार्यको आधारमा तपाईं नै उहाँको सबैभन्दा ठूलो ‘मतियार’ हो भन्न सकिन्न र ? तर, यस्तो दृष्टिकोण ममा छैन।”
एमाले महासचिव ईश्वर पोखरेलद्वारा हस्ताक्षरित स्पष्टीकरण पत्रमा आफूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको मतियारका रूपमा चित्रित गरेपछि पूर्वप्रधानमन्त्री नेपालले यस्तो जवाफ दिएका हुन्।
नेता नेपाललाई पठाइएको १० बुँदे स्पष्टीकरण पत्रमा भनिएको थियो, “तपाईंले साबिक नेकपाको जिम्मेवारीमा रहँदाको अवस्थामा पार्टी अध्यक्ष ओलीका विरुद्धमा १९ पृष्ठ लामो अराजनीतिक तथ्यहीन, शत्रुतापूर्ण, आरोप तयार गर्न पार्टी विधानको व्यवस्था विपरीत छापामार शैलीमा तत्कालीन पार्टी सचिवालयमा प्रस्तुत गर्न र त्यसलाई पार्टीको नाम, झण्डा र लोगोसमेतको अनधिकृत रूपमा प्रयोग गरी पुस्तकाकारमा प्रकाशित गरेर वितरण गर्नमा अग्रसर भई पुष्पकमल दाहालको मतियारसमेत भई पार्टी हित विपरीत कार्य गरेको र गराउनु पर्नाको कारण के हो ?”
अध्यक्ष ओलीको अध्यक्षतामा ७ चैतमा बसेको बैठकले वरिष्ठ नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई तीन दिनभित्र चित्तबुझ्दो लिखित जवाफ माग्ने निर्णय गरेको थियो । नेपाल लगायत सबैले अलगअलग स्पष्टीकरण बुझाएका छन्।
तोकिएको म्यादभित्रै नेपालले ‘स्पष्ट गर्न हुन’ शीर्षकमा १३ बुँदाको प्रत्युत्तर पत्र पठाएका हुन् ।
माधवकुमार नेपालको प्रत्युत्तर पत्र: