भागरथी हत्याको अनुसन्धान अन्तिम चरणमा, अदालतमा पेश गर्ने तयारी
बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। केही दिनभित्रै अनुसन्धान प्रतिवेदन अदालतमा बुझाउने तयारी गरिएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ५ फागुनमा चडेपानीकै १६ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको थियो। भागरथीको गत २१ माघमा बलात्कारपछि हत्या भएको प्रहरीले बताउँदै आएको छ।
दिनेशलाई ४ फागुनमा पक्राउ गरिएको थियो। अनुसन्धानमा खटिएका एक अनुसन्धान अधिकृतले भने, “नाबालकको हकमा २१ दिनभित्र अनुसन्धान सकेर अदालत बुझाउनुपर्ने कानूनी व्यवस्था रहेकाले सोहीअनुसार अनुसन्धान अन्तिम चरणमा पुगेको छ।”
उनका अनुसार एक दुई दिनभित्रै अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमार्फत अदालतमा बुझाउने तयारी छ। प्रयोगशालाबाट प्राविधिक परीक्षणको रिपोर्ट आएपछि प्रतिवेदन तयार हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दिनेशमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट तीन पटक पाँच/पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ। प्रहरी हिरासतमा रहेका दिनेशले हत्या गरेको स्वीकारेको प्रहरीको भनाइ छ।
दिनेशमाथि दुईवटा मुद्दामा अनुसन्धान चलिरहेकाे प्रहरीले जनाएकाे छ। एउटा कर्तव्य ज्यान मुद्दा र अर्को जबरजस्ती करणीसम्बन्धी मुद्दा रहेको छ।