काठमाडौं–रक्सौल रेलमार्गको विस्तृत अध्ययन गर्न समझदारी हुँदै, स्थलगत सर्वेक्षणका लागि भारतीय प्राविधिक टोली आउने
काठमाडौंलाई भारतसँग जोड्ने प्रस्तावित रेलमार्गको विस्तृत अध्ययन गर्न नेपाल–भारतबीच समझदारी (एमओयू) को तयारी गरिएको छ। केही साताभित्रै यस्तो समझदारीपत्रमा हस्ताक्षर गरिन लागेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख, गोपालप्रसाद सिग्देलले बताए।
“दुवै देशबीच एमओयूमा रहने प्रावधानहरूका विषयमा पत्र आदानप्रदान भइसकेको छ। अब छिट्टै यस्तो समझदारी गरेर प्रस्तावित रेलमार्गको नक्सांकनको काम अघि बढ्छ,” उनले भने।
भारतले गत भदौमै विस्तृत अध्ययनको समझदारीपत्रको मस्यौदा नेपाल सरकारलाई पठाएको थियो। त्यसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्ना चासोहरू समेट्दै दुई साताअघि परराष्ट्र मन्त्रालयमार्फत् भारत सरकारलाई मस्यौदा फिर्ता पठाएको छ।
दुवै पक्ष सबै विषयमा सहमत भइसकेकाले अब समझदारी पत्रमा हस्ताक्षर गरी काम अघि बढाउन लागिएको हो। विस्तृत अध्ययनमा रेलमार्गको सम्पूर्ण डिजाइनहरू समावेश हुनेछन्।
हस्ताक्षरको तयारीसँगै स्थलगत अध्ययनका लागि भारतीय प्राविधिक टोली आउने तयारी पनि गरिएको छ। रेलमार्गको सम्भावित बाटो अध्ययन गर्न आउने दुई दर्जनभन्दा बढी प्राविधिकको सूची र अध्ययनमा प्रयोग हुने मेसिनको जानकारी भारतले नेपाल सरकारलाई पठाइसकेको छ। यो टोलीले स्थलगत अध्ययन गरी रेलमार्गको विस्तृत डिजाइन तयार गर्नेछ।
काठमाडौंलाई रक्सौलसँग जोड्ने प्रस्तावित विद्युतीय रेलमार्गको विस्तृत अध्ययन गरी प्रतिवेदन तयार गर्न मन्त्रालयले यसअघि नै अनुमति दिने निर्णय गरिसकेको छ। भारत सरकारको स्वामित्वको कोङ्कर्ण रेल्वे कर्पोरेसनले यस्तो विस्तृत अध्ययन गर्नेछ।
कोङ्कर्णले यसअघि २०७६ भदौमै यो परियोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययन गरी प्रतिवेदन नेपाल सरकारलाई बुझाइसकेको छ। “भारत सरकारको रणनीतिक महत्वको परियोजना भएकाले सम्भाव्यता अध्ययन आवश्यक नपर्ने बरु एकैपटक रेलमार्गको डिजाइन नै गर्ने उनीहरूको तयारी छ,” महाशाखा प्रमुख सिग्देलले भने।
रक्सौलबाट वीरगन्ज हुँदै काठमाडौं ल्याउन प्रस्तावित १३६ किमी लामो यो विद्युतीय रेलमार्गको लागत रू. ३ खर्ब हाराहारी हुने अनुमान गरिएको छ। यो रेलमार्गमा करीब ४१ किमी सुरुङ रहने प्रारम्भिक अनुमान छ।
२०७५ भदौमा काठमाडौंमा सम्पन्न बिम्स्टेकको चौंथो सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले यो रेलमार्गको प्रारम्भिक अध्ययन गर्न समझदारी गरेका थिए।
आफ्नै लागतमा रेलमार्गको प्रारम्भिक अध्ययन गरेको भारतले विस्तृत अध्ययनको खर्च पनि बेहोर्नेछ। गत फागुनमा भारतीय अर्थमन्त्री निर्मला सीतारमणले प्रस्तुत गरेको चालु आर्थिक वर्षको बजेटले रक्सौल–काठमाडौं रेलमार्गको विस्तृत अध्ययन गर्न बजेट छुट्याएको थियो।
चीनतिर जोड्ने काठमाडौं–केरुङ रेलमार्गको लामो समयदेखि चर्चा हुँदै आएपनि यसको विस्तृत अध्ययन हुन सकेको छैन। गत वर्ष चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका दौरान यो रेलमार्गको विस्तृत अध्ययन गरिने समझदारी भएको थियो। स्थलगत अध्ययन गरी विस्तृत अध्ययन अघि बढाउन कोरोना भाइरस बाधक बनेको सरकारी अधिकारीहरुले बताउँदै आएका छन्।
भारतले रक्सौल–काठमाडौं रेलमार्गलाई ब्रोड–गेज प्रविधिमा बनाउने प्रस्ताव गरेको छ। भारतमा अधिकांश रेल ब्रोड–गेज रहेकाले काठमाडौंलाई पनि यही प्रविधिले जोड्न खोजेको हो। तर, कतिपय रेल प्रविधिका जानकारहरूले भने नयाँ प्रविधिको स्ट्याण्डर्ड गेज प्रविधिको रेलमार्ग निर्माण गर्नुपर्नेमा जोड दिँदै आएका छन्। ब्रोड गेजको तुलनामा नयाँ प्रविधिको स्ट्याण्डर्ड गेजको रेलको गति तीव्र हुन्छ।