नेपालीको प्रतिव्यक्ति आय ३४५७ डलर, मानव विकास सूचकांकमा नेपाल १४२औं स्थानमा
सन् २०१९ मा नेपालको मानव विकास सूचकांक ०.६०२ पुगेको छ। सन् २०१८ मा यो सूचकांक ०.५७९ थियो। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले बुधबार सार्वजनिक गरेको मानव विकास प्रतिवेदन–२०२० अनुसार नेपाल संसारका मध्यम स्तरको मानव विकास भएको देशहरुको सूचीमा छ।
प्रतिवेदनका अनुसार, संसारका मानव विकासका आधारमा १८९ देशमध्ये नेपालको स्थान १४२औं स्थानमा छ। नेपाल गत वर्ष १४७औं स्थानमा थियो। संसारमा सबैभन्दा धेरै मानव विकास भएको देशको पहिलो स्थानमा नर्वे छ। यसको मानव विकास सूचकांक ०.९५७ छ।
दक्षिण एशियामा श्रीलंकाको मानव विकास सूचकांक अन्य देशका तुलनामा धेरै ०.७८२ (७२ औं स्थान) छ। भारतको मानव विकास सूचकांक ०.६४५ (१३१ औं स्थान) छ। दक्षिण एशियामा मानव विकास सूचकांकको आधारमा नेपालभन्दा पछाडि पाकिस्तान (१५४ औं स्थान) र अफगानिस्तान (१६९ औं स्थान) मात्रै छन्।
बितेका तीन दशकमा नेपालले मानव विकासमा उल्लेख्य सुधार गरेको देखिएको छ। सन् १९९० मा नेपालको मानव विकास सूचकांक ०.३८७ थियो। अहिले यो ५५.६ प्रतिशत बढेर ०.६०२ पुगेको हो। औसत आयु, साक्षरता तथा प्रतिव्यक्ति आयमा आधारित सूचकांकहरूको प्रयोगद्वारा निकालिने मानव विकास सूचकांकले मानिसको जीवनको गुणस्तरलाई देखाउँछ।
मानव विकास सूचकांकको अधिकतम मान १ अंक हो भने न्यूनतम मान ० अंक हो। सूचकांक जति धेरै माथि उक्लियो, उति विकासको अवस्थालाई बुझाउँछ।
तीन दशकयता औसत आयु, साक्षरता तथा प्रतिव्यक्ति आयमा सुधार भएकाले मानव विकास सूचकांकमा सुधार आएको हो। सन् १९९० मा ५४.४ रहेको औसत आयु अहिले ७०.८ वर्ष पुगेको छ।
विद्यालयमा बिताउने वर्ष ७.५ वर्षबाट १२.८ वर्षमा पुगेको छ। प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ३७२ डलर (सन् २०१७ को पीपीपी मूल्यमा) बाट बढेर ३ हजार ४५७ डलर पुगेको छ।