१३औं सागमा रू. १ अर्ब ३१ करोड खर्च, एक वर्षपछि सार्वजनिक भयो खर्च विवरण
अघिल्लो वर्ष भएको १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा १ अर्ब ३१ करोड रूपैयाँ खर्च भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। आइतबार राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले पत्रकार सम्मेलन गर्दै १३औं साग आयोजना गर्न १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रूपैयाँ खर्च भएको जानकारी दिए।
सदस्य सचिव सिलवालका अनुसार ३ करोड ५५ लाख ७१ हजार १३७ रूपैयाँ ब्यांक मौज्दात रहेको छ। १ करोड ९३ लाख ८० हजार २२४ रूपैयाँ भने फ्रिज भएको उनले बताए। सरकारले प्रतियोगिता आयोजना गर्न रू. १ अर्ब २३ करोड १८ लाख ४८ हजार दिएको थियो।
टिकट बिक्रीबाट रू. २ करोड ६७ लाख ११ हजार ६७५, विज्ञापनबाट रू. २० लाख ९९ हजार १५० र सहभागी राष्ट्रहरूबाट रू. ११ करोड २१ लाख ३५ हजार ५९८ प्राप्त भएको सिलवालले बताए।
साग प्रतियोगिताको उद्घाट र समापन समारोहमा मात्रै ११ करोड ५९ लाख ८८ हजार ८०४ रूपैयाँ खर्च भएको विवराण राखेपले सार्वजनिक गरेको छ। यस्तै होटल बसोबासमा १३ करोड ५९ लाख ६७ हजार ६८३ रूपैयाँ खर्च भएको छ।
खेल सामग्री व्यवस्थापनमा २८ करोड २२ लाख ८३ हजार ८८१ रूपैयाँ, राष्ट्रिय टीम व्यवस्थापनमा ३० करोड ८० लाख ८१ हजार ९३९ रूपैयाँ खर्च भएको छ। सचिवालय खर्च (काठमाडौं) ६ करोड ७४ लाख ५६ हजार ४७९, पोखरामा ७ करोड, ६२ लाख ९८ हजार २२४ र जनकपुरमा ८० लाख ३७ हजार २१२ रूपैयाँ खर्च भएको छ।
प्रतियोगिता सम्पन्न भएको तीन महीनाभित्र खर्च विवरण सार्वजनिक गर्ने घोषणा गरेको राखेपले एक वर्षपछि सार्वजनिक गरेको हो। अघिल्लो वर्ष १५–२४ मंसीरमा नेपालको काठमाडौं, पोखरा र जनकपुरमा खाग भएको थियो।
पूर्वाधार निर्माणमा वितगदेखि अहिलेसम्म २ अर्ब ८६ करोड १४ लाख २८ हजार ९७३ रूपैयाँ खर्च भएको राखेपका सदस्यसचिव सिलवालले बताए।
यस्तै पदक विजेता खेलाडी, प्रशिक्षकहरू र सहभागी राष्ट्रिय संघहरूलाई नेपाल सरकारको तर्फबाट २२ लाख ७६ करोड बराबरको पुरस्कार रकम २०७६ चैत मसान्तसम्म वितरण गरिएको सिलवालले बताए।
सदस्य सचिव सिलवालले प्रतियोगिता सम्पन्न भएको तीन महीनाभित्र खर्च विवरण सार्वजनिक गर्ने घोषणा गरिएपनि काठमाडौं, जनकपुर र पोखराबाट समयमा सम्पूर्ण हिसाबकिताब आउन नसकेका कारण सम्भव नभएको बताए।
गत वर्षबाट महामारीका रूपमा फैलिएको कोभिड-१९ र सागमा सहभागी राष्ट्रहरूबाट प्राप्त रकम र खर्च विवरणको हिसाब फरफारक गर्न सम्पूर्ण सहभागी राष्ट्रहरूको ओलम्पिक कमिटीबाट समेत स्वीकृति लिनुपर्ने बाध्यात्मक व्यवस्था भएकाले ढिलाइ भएको उनले बताए।
१४औं साग आयोजना गर्ने पालो पाकिस्तानको भएपनि पाकिस्तान सरकारले अहिलेसम्म औपचारिक निर्णय गरिसकेको छैन। पाकिस्तानले तोकिएको समयमा प्रतियोगिता आयोजना गर्न नसके बांङ्गलादेश र श्रीलंकाले संयुक्त रूपमा प्रतियोगिता आयोजना गर्ने इच्छा देखाएको सिलवालले बताए।