खुलामञ्चमा खाना खुवाउने अभियान रोक्ने महानगरको निर्णयप्रति साझा पार्टीको विरोध
काठमाडौंको खुलामञ्चमा सञ्चालन हुँदै आएको निःशुल्क खाना खुवाउने अभियानमा रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णयप्रति साझा पार्टीले विरोध जनाएको छ।
केही परोपकारी समूहले महीनौंदेखि कोरोनापछि रोजगारविहीन भएका र असहायलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न महानगरले निर्देशन दिएको भन्दै साझा पार्टीले विरोध जनाएको हो।
‘कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नुपर्ने अवस्था सृजना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नु पर्दथ्यो। तर, उल्टो नागरिक स्तरबाट भइरहेको परोपकारी कार्य समेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा हो’, साझा पार्टीका प्रवक्ता शरदराज पाठकले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
साझा पार्टीले बुधबार बिहान र बेलुका बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च व्यहोर्ने र पार्टीका स्वयंसेवीहरू पनि खाना खुवाउने कार्यमा सहभागी हुने जनाएको छ।