दुई महीनायता बाढी, पहिरो र चट्याङमा परेर २०३ जनाको मृत्यु
यस वर्षको मनसुन शुरु भएदेखि आजसम्म पहिरो, चट्याङ र बाढीका झण्डै पाँचसय वटा घटनाबाट दुईसयभन्दा बढीको मृत्यु भएको छ।
यसवर्षको मनसुन ३० जेठमा शुरु भएको हो। त्यसको करिब दुई महीनायता बाढी, पहिरो र चट्याङका गरी कूल ४७३ वटा घटना भएको र त्यसबाट २०३ जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांक छ।
बाढी पहिरोका कारण ५४ जना बेपत्ता भएका छन् भने १९१ जना घाइते छन्। ८३७ परिवार प्रभावित भएको पनि तथ्यांकले देखाएको छ।
गृह मन्त्रालयको आपतकालीन कार्य सञ्चालन केन्द्र (एनइओसी) ले गरेको विपद्को घटनाबाट भएको क्षतिको अद्यावधि विवरण अनुसार सबैभन्दा बढी पहिरोबाट १७९ को मृत्यु र ४३ जना बेपत्ता भएका छन्।
त्यस्तै चट्याङबाट १९ जनाको मृत्यु र ४५ जना घाइते भएका छन्। १ बैशाख यता भने चट्याङकै कारण ४९ जनाको मृत्यु र १६४ जना घाइते भएको तथ्यांक छ।
त्यस्तै बाढीबाट ५ जनाको मृत्यु, ११ बेपत्ता भएका छन्। बाढीबाट हुने क्षति पछिल्लो केही वर्ष यता कम हुँदै गएको गृह मन्त्रालयको भनाइ छ।
मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान महाशाखाको समन्वयमा भारी वर्षा हुने र त्यसपछि बाढी आउने खतरा रहेको ठाउँका बासिन्दालाई मोबाइलमा एसएमएस पठाउने गरेकाले धेरै मानवीय क्षति हुनबाट बचाएको बताएका छन्।