चीनमा जेल हालेको २७ वर्षपछि निर्दोष भएको फैसला
हत्यामा संलग्न भएको भन्दै २७ वर्ष जेलमा थुनिएपछि चीनका एक व्यक्तिलाई निर्दोष रहेको फैसला गरेर मुक्त गरिएको छ।
झाङ युहुआनलाई दुई युवाको हत्या गरेको भन्दै सन् १९९३ मा जेल हालिएको थियो। उनलाई प्रहरीले यातना दिएर अपराध स्वीकार गर्न लगाएको जनाइएको छ।
उनलाई जन्मकैदको फैसला गरिएको थियो। उनी गलत आरोपमा चीनमा सबैभन्दा लामो समय जेल हालिएका व्यक्ति हुन्। चीनको जिआङ्जी प्रान्तको एक जेलमा नौ हजार ७७८ दिन थुनिए।
उनको मुद्दा पुनः खोल्ने अभियोजकहरुले उनको स्वीकार जबरजस्ती भएको र वास्तविक अपराधसँग मेल नखाएको बताएका छन्। उच्च अदालतले अपराध पुष्टि गर्ने पर्याप्त प्रमाण नदेखिएको फैसला गरेलगत्तै उनी जेलमुक्त भए। उनलाई क्षतिपूर्ति दिन पनि अदालतले आदेश दिएको छ।
झाङ मंगलबार मुक्त भएलगत्तै उनकी ८३ वर्षीय आमा र पूर्वपत्नीसँग भएको भावुक मिलन चाइनिज सञ्चारमाध्यमहरुले देखाएका थिए। उनकी पूर्वपत्नी सोङ जिओनिउको झाङतर्फबाट दुई छोरा छन्। उनीहरुले ११ वर्षअघि सम्बन्धविच्छेद गरेका थिए।
उनले पुनःविवाह गरिसकेकी छिन्। तर, उनले पूर्वपतिलाई अदालतमा अपिल गर्न सहयोग गर्दै आएकी थिइन्। झाङको रिहाईपछि उनले भनिन्, “यो खबर सुन्नेबित्तिकै म एकदमै उत्साही भएको थिएँ।”
अनुगमनकर्ताहरुले चीनमा गलत ढंगले थुनामा राखिएकाहरुको संख्या धेरै भएको र यस्तो काम बढिरहेको जनाएका छन्। यस्तो संख्या राजनीतिक रुपमा नभइ आपराधमा संलग्न देखाइएकाहरुको भएको उनीहरु बताउँछन्।
-बीबीसीबाट