तीव्र गति र क्षमताभन्दा बढी यात्रुका कारण बाँके दुर्घटना
भारतका विभिन्न शहरमा काम गरिरहेका दाङ, सल्यान र रोल्पाका ३३ यात्रु बोकेर नेपालगञ्जबाट आइतबार साँझ साढे ८ बजे हिँडेको गाडी तीव्र गति र क्षमताभन्दा बढी यात्रुका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
फोर्स कम्पनीको उक्त मिनीबस राति सवा १२ बजे बाँकेको ठोरिया जंगलमा रोकिरहेको ट्रकमा ठोक्किएको बाँके प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिए । उद्धारका लागि सबैभन्दा पहिला दुर्घटनास्थल पुगेका सशस्त्र प्रहरीको शम्सेरगञ्ज सुरक्षा बेसका अधिकारीहरुका अनुसार १० यात्रुको दुर्घटनास्थलमै मृत्यु भएको थियो ।
अन्य दुईको अस्पतालमा मृत्यु भएको हो । जसमा चालक दलका दुई सदस्य समेत छन् ।
घटनास्थलमा रहेका सशस्त्र प्रहरीले तीव्र गति र क्षमताभन्दा बढी यात्रु नै दुर्घटनाको कारण भएको प्रारम्भिक अनुमान गरेका छन् । ती प्रहरीले भने, “चालक निदाएको हो कि भन्ने पनि आशंका छ ।” प्रदेश ५ प्रहरी प्रमुख डीआइजी रवीन्द्रसिंह धानुकले अहिलेसम्म तीव्र गतिकै कारण दुर्घटना भएको खुलेको बताए ।
यातायात व्यवस्था विभागका अनुसार फोर्स कम्पनीका १५ देखि २६ सिट क्षमताका मिनीबस हाल संचालनमा छन् । उक्त मिनीबसमा ३३ यात्रु थिए ।
सरकारले बन्दाबन्दीमा भारतबाट नेपाल आएका नागरिकलाई कोभिड–१९ को संक्रमण नफैलने गरी सुरक्षित यात्राको मापदण्ड बनाएको छ । तर, त्यसको अनुगमन नहुँदा क्षमताभन्दा बढी यात्रु कोच्चिएर यात्रा गरिरहेको खुलेको छ ।
प्रदेश ५ प्रहरीका एसएसपी राजकुमार बैदवारका अनुसार २१ जना घाइतेमध्ये पाँचको अवस्था गम्भीर छ । सबैको भेरी अस्पतालमा उपचार भइरहेको छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–२ स्थित ठोरिया जंगलमा दुर्घटना भएको हो । बा ५ ख ५९९५ नम्बरको फोर्स गाडी चामल लोड भएको ना ४ ख ९०६४ नम्बरको ट्रकमा पछाडिबाट ठोक्किएको छ ।