युनियन बर्लिन विरुद्ध हेर्थाको शानदार जित
जर्मन बुन्डेलिगामा शुक्रबार राति भएको खेलमा युनियन बर्लिन विरुद्ध हेर्था बर्लिनले शानदार जित निकालेको छ ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा हेर्थाले ४–० गोलले फराकिलो जित निकाल्यो । दोस्रो हाफको ५१औं मिनेटमा हेर्थाले अग्रता लिएको थियो । यसको एक मिनेट नबित्दै हर्थले अग्रता दोब्बर बनायो ।
६१औं र ७७औं मिनेटमा थप गोल गर्दै हेर्थाले ४–० को शानदार जित निकालेको हो । तर, युनियन बर्लिनले सान्त्वना गोल समेत फर्काउन सकेन । जितसँगै, हेर्था तीन अंक जोड्दै अंक तालिकाको दशौं स्थानमा उक्लिएको छ । हेर्थाले २६ खेलबाट ३४ अंक जोडेको छ ।
कोभिड १९ महामारीका कारण स्थगित खेल पुनः सञ्चालन भएको छ । तर, खेल दर्शक विहीन मैदानमा भइरहेको छ । यूरोपका अन्य लिगहरु भने सञ्चालन हुन सकेको छैन ।