उद्योगी र श्रमिकबीच रोजगारी कटौती नगर्ने समझदारी
कोरोनाभाइरसका कारण उद्योग तथा श्रम क्षेत्रमा देखापरेको असरको अध्ययन गरी समस्या समाधानको उपाय सुझाउन गठित कार्यदलले काम शुरु गरेको छ ।
मंगलबार बसेको कार्यदलको पहिलो बैठकले कुनै पनि उद्योगबाट श्रमिक कटौती नगर्ने विषयमा श्रमिक, रोजगारदाता र सरकारी प्रतिनिधिहरुले सहमति गरेको कार्यदलका सदस्य रामेश्वर शाहले बताए । “श्रमिक कटौती नगर्ने बरु रोजगारीको समयलाई आंशिक कटौती गर्ने विषयमा छलफल अघि बढेको छ,” शाहले भने ।
बैठकमा श्रमिकको तलब तथा रोजगारीका विषयमा बैठकमा श्रमिक, रोजगारदाता तथा सरकारको त्रिपक्षीय छलफल भएको थियो । श्रमिक संठनका प्रतिनिधिले वैशाख महीनाको तलब मन्त्रिपरिषद्को निर्णय बमोजिम दिनुपर्ने पक्षमा अडान राखेका थिए । मन्त्रिपरिषद्को बैठकले उद्योगहरूले श्रमिकलाई वैशाख महीनाको तलब मध्ये आधा तत्कालै र आधा उद्योग खुलेपछि दिनुपर्ने निर्णय गरेको थियो । कतिपय उद्योगका श्रमिकले अझै चैत महीनाको पनि तलब पाएका छैनन्।
रोजगारदाता व्यवसायीहरुले भने श्रमिकसँगै उद्योग पनि बाँच्नुपर्ने भएकाले मिलेर समस्याको समाधान गर्नुपर्ने विषयमा धारणा अघि सारेका थिए । नेपाल उद्योग वाणिज्य महासंघ सहितका व्यवसायीका प्रतिनिधि संस्थाले श्रमिकको तलबको एक तिहाइ उद्योग व्यवसायले, एक तिहाइ सरकारले बेहोर्नुपर्ने र एक तिहाइ श्रमिक आफैंले कटौती गर्नुपर्ने प्रस्तावमा छलफल अघि बढाएका छन्।
“कुनै पनि रोजगारी कटौती नगर्ने र रोजगारदाता, श्रमिक तथा सरकारबीच त्रिपक्षीय समझदारी गरेर समस्याको समाधान खोज्ने सहमति भएको छ,” कार्यदलका सदस्य शाहले बताए । बैठकले कार्यदलको कार्यसूचि (टीओआर) को टुंगो लगाउने निर्णय पनि गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको केन्द्रीय श्रम सल्लाहकार परिषद्को २८ वैशाखको बैठकले कोरोनाभाइरसले श्रम क्षेत्रमा पारेको असर अध्ययन तथा समस्या पहिचान गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन समस्या समाधान गर्ने उपाय खोज्न कार्यदल गठन गरेको थियो । श्रम मन्त्रालयका सहसचिवको संयोजकत्वमा बनेको कार्यदलमा व्यवसायी, श्रमिक तथा नेपाल सरकारका गरी १६ जना सदस्य छन्।