रेमिटेन्स आधाले घट्न थाल्यो, चैतमा भित्रियाे रु.३४.४८ अर्ब मात्र
कोरोना भाइरसले सिर्जना गरेको आर्थिक संकटका कारण नेपाल भित्रिने रेमिटेन्स आधाले घट्न थालेको छ । नेपाल राष्ट्र ब्यांकले प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार, चैत महिनामा रु. ३४ अर्ब ४८ करोड मात्रै रेमिटेन्स भित्रिएको छ । यो मासिक औसत रेमिटेन्स भित्रिने दरभन्दा करिब आधाले थोरै हो ।
फागुन महिनामा रेमिटेन्स रु. ७९ अर्ब २१ करोड आएको थियो । माघमा रेमिटेन्स रु. ६६ अर्ब भित्रिएको थियो । राष्ट्र ब्यांकका अनुसार, चालु आर्थिक वर्षको चैतसम्म (नौ महिनामा) रु. ६ खर्ब २७ अर्ब रेमिटेन्स देश भित्रिएको छ । यो अघिल्लो वर्षको यही अवधिका तुलनामा ४ प्रतिशतले थोरै हो ।
कोरोना भाइरसले सिर्जना गरेको महामारीका कारण संसारभरिको अर्थतन्त्र संकटमा परेकाले रेमिटेन्स आय ह्वात्तै घट्न थालेको हो । वैशाखमा रेमिटेन्स थप घटेको अनुमान छ । नेपालीको श्रम गन्तव्य मुलकहरुमा अर्थतन्त्र सुस्त भएका कारण हजारौं नेपालीले रोजगारी गुमाउने अनुमान गरिएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीले रोजगारी गुमाउने र नयाँ जाने क्रम रोकिएपछि रेमिटेन्स थप ओरालो लाग्दै जानेछ ।
बन्दाबन्दीका कारण आर्थिक क्रियाकलाप नभएपछि नेपालको वैदेशिक व्यापार घटेको छ । चालु आर्थिक वर्षको चैतसम्ममा आयात ७.५ प्रतिशतले घटेर रु. ९ खर्ब ८२ अर्ब ५३ करोडमा सीमित भएको छ । निर्यात भने १२.९ प्रतिशतले बढेर रु. ७८ अर्ब ८२ करोड पुगेको छ । आयात खुम्चिएको र निर्यातमा सामान्य सुधार भएका कारण व्यापार घाटा अघिल्लो वर्षको तुलनामा ८.९ प्रतिशतले घटेको छ ।
वैदेशिक व्यापार खुम्चिएका कारण देशको भित्रिने र बाहिरिने रकम बीचको अन्तर अर्थात शोधनान्तर स्थिति रु. ३६ अर्ब रु ६१ करोडले वचतमा छ । यद्यपि, चालु खाता घाटा रु. १ खर्ब ३५ अर्ब ५४ करोड छ । यसअवधिमा विदेशी मुद्राको सञ्चिती पनि बढेर रु. ११ खर्ब ५६ अर्ब पुगेको छ । गत असारको तुलनामा यो ११.३ प्रतिशतको वृद्धि हो ।
चैतमा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धिदर ६.७४ प्रतिशत पुगेको छ । अर्थात, एक वर्षअघिको तुलनामा गत चैतमा रु. १०० पर्ने वस्तुको औसत मूल्य ६.७४ रुपैयाँले बढेको देखिएको छ । सबैभन्दा धेरै खाद्य तथा पेय पदार्थ समूहको मूल्य ९.६८ प्रतिशतले बढेको छ ।