रियो ओलम्पिकः पदक जितेसँगै अनौठो शैलीमा विवाहको प्रस्ताव
रियो ओलम्पिक–२०१६ मा खेलहरुको रोमाञ्चका बीच एउटा निकै रोमान्टिक र एकदमै अनौठो शैलीमा राखिएको विवाहको प्रस्ताव पनि चर्चाको विषय बनेको छ ।
आइतबार रियोमा चीनकी स्वीमर खोह जोहले महिलातर्फको तीन मिटर स्प्रिंगबोर्डमा रजत पदक जितिन् ।
तर जीतको यो रोमाञ्चक पललाई उनका ब्वायफ्रेन्ड चिन कीले मेडल सेरेमनीकै बेला घुँडा टेकेर विवाहको प्रस्ताव गरी झनै उत्सवमय बनाइदिए ।
टेलिभिजनमा लाखौं दर्शकले चिन कीको यो शैली लाइभ हेरे । चिन की पनि चीनकै स्वीमर हुन् । उनले तीन मिटर सिंक्रोनाइज्ड स्प्रिङबोर्डमा कास्य पदक जितेका छन् ।
चिनको यो शैलीले जोहको मन छोयो र उनले स्वीकृतिमा टाउको हल्लाउँदै ‘मञ्जुर छु’ भनेर जीवनको यो क्षणलाई विशेष बनाइन् ।
खोह जोह भन्छिन, “हामी ६ वर्षदेखि एकअर्काको नजिक छौं, तर उनले यसरी प्रस्ताव राख्लान भन्ने मैले चिताएकी थिइन ।”
यद्यपी कतिपय दर्शकहरुले यो अनौठो प्रस्तावले खोह जोहले पदक प्राप्त गरेको उपलब्धीलाई ओझेलमा पारिदिएको टिप्पणी गरेका छन् ।
बीबीसीबाट साभार