अर्थ/बजार विहीबार, माघ ६, २०७३

राष्ट्रिय वाणिज्य बैंकले भारत र चीनमा शाखा खोल्ने

हिमालखबर

राष्ट्रिय वाणिज्य बैंकले छिमेकी मुलुक भारत र चीनमा आफ्नो शाखा स्थापना र विस्तार गर्ने भएको छ । 

यसका लागि बैंक सञ्चालक समितिले भारतमा शाखा स्थापना र विस्तार गर्न स्वीकृति दिएको छ भने चीनमा सम्भाव्यता अध्ययन कार्य शुरु गरेको छ ।

विसं २०२२ माघ १० गते स्थापना भएको बैंकका हाल ६८ जिल्लामा १७१ शाखा, ती शाखामा ९० एटिएम सेवा, १७ स्थानमा एक्सटेन्सन काउन्टर तथा ७५ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा छन् । 

बैंकको ५२औँ वार्षिकोत्सव अवसरमा बैंकद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी निर्देशक किरणकुमार श्रेष्ठले पुस मसान्तसम्म बैंकको कुल निक्षेप रु एक खर्ब ३८ अर्ब र कुल कर्जा रु ९३ अर्ब ४८ करोड पुगेको जानकारी दिए । 

यस अवधिमा बैंकको खुद नाफा रु एक अर्ब ३० करोड पुगेको छ । गत वर्षको यही अवधिमा रु एक अर्ब नौ करोड रहेको थियो । विसं २०६० असार महिनासम्म बैंकको पुँजी रु एक अर्ब १७ करोड २३ लाख मात्र रहेको र सञ्चित नोक्सानी रु २३ अर्ब ५६ करोड पुगेको थियो ।

असोज २०७३ सम्म मुनाफा रु एक अर्ब २३ करोडभन्दा बढी रहेको बैंकले जनाएको छ । 

बाह्र वर्षमा मुनाफा 
पत्रकार सम्मेलनमा बैंकका कार्यकारी निर्देशक श्रेष्ठले विसं २०६० मा वार्षिक नोक्सानी रु पाँच अर्ब रहेकोमा आव २०७२/७३ मा बैंक रु दुई अर्ब ३५ करोड खुद नाफा गर्न सफल रहेको जानकारी दिए । बैंकसित हाल भाखा नाघेको कर्जा तीन प्रतिशतको हाराहारीमा छ । 

हाल बैंकले वाणिज्य, व्यापार, होटल, कृषि क्षेत्रमा आफ्नो पुँजी परिचालन गरेको छ । सेवाग्राहीको जीवनस्तर उकास्न उच्च शिक्षाका लागि कर्जा, घर निर्माण र गाडी खरिदमा लगानी समेत गरेको छ । व्यावसायिक कृषि प्रवद्र्धन गर्न र कृषि तथा सामाजिक बैंकिङ विभाग स्थापना गरी रु सात अर्ब ७४ करोड कर्जा प्रवाह गरेको छ । चालु आवमा सिन्धुलीमा जुनारखेती र रुपन्देहीमा माछापालन कृषकलाई लक्षित गरी रु १५ करोड लगानी कार्य सुरु गरेको छ । 

प्रहरीसँग तलबी बचत खाता सम्झौता 
बैंकले नेपाल प्रहरीसँग तलबी बचत खाता खोल्न सम्झौता गरेको छ । यसबाट चालु आवमा करिब ७० हजार प्रहरीका बचत खाता खोली बैंकमार्फत तलब भुक्तानी व्यवस्था मिलाइएका, नागरिक कोषसित सम्झौता गरी बचतकर्ताको रकम एबिबिएस सेवामार्फत सोझै केन्द्रीय खातामा जम्मा हुने व्यवस्था मिलाइएको छ । 

यस्तै बैंकले त्रिभुवन विश्व विद्यालयसँग सम्झौता गरी अवकाश प्राप्त प्राध्यापक र कर्मचारीको निवृत्तिभरण रकम भुक्तानी गर्ने कार्य सुरु गरिएको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

श्रेष्ठले बैंकसित तरलताको अभाव नरहेको बताउनुभयो ।
रासस 

 

प्रतिकृया दिनुहोस