थप समाचार शुक्रबार, मंसिर ६, २०७६

अमेरिकी राष्ट्रपति र पाकिस्तानी प्रधानमन्त्रीबीच फोनवार्ता

रासस

पाकिस्तानका प्रधानमन्त्री इमरान खान र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बिहीबार राति टेलिफोन वार्ता भएको छ ।

वार्तामा प्रधानमन्त्री खानले अफगानिस्तानका लागि अफगान शान्ति र मेलमिलाप प्रक्रियाको प्रगतिमा इस्लामावादको प्रतिबद्धता पुनः व्यक्त गरेका छन् ।

पाकिस्तानको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार ट्रम्पले पाकिस्तानलाई अमेरिकी र अष्ट्रेलियाका प्राध्यापक केभिन किङ् र तिमोथी विकसलाई रिहा गर्न सहयोग पुर्‍याएकोमा धन्यवाद दिएका छन्।

यी दुई प्राध्यापकलाई गत तीन वर्षयता तालिबान लडाकू समूहले अपहरण गरेको प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

ती दुई प्राध्यापकलाई तालिबानले उक्त समूह र अफगान सरकारबीच भएको एक सम्झौताअनुसार रिहा गरेका थिए । सोही सम्झौताअनुसार सोमबार साँझ अनास हक्कानीसहित तीन आतङ्कवादीलाई बग्राम जेलबाट रिहा गरिएको थियो ।

सन् २०१६ मा काबुलमा अवस्थित अमेरिकी विश्वविद्यालयबाहिर ती प्राध्यापकहरूलाई अपहरण गरिएको थियो, जहाँ दुवै प्राध्यापकले प्राध्यापन गर्ने गर्दथे ।

अफगानिस्तान सरकारले रिहा गरेका ती आतङ्ककारीहरू हक्कानी नेटवर्क समूहका प्रमुख सदस्य अनस हक्कानी तथा वरिष्ठ तालिबानी सदस्यहरू हाजी माली र अब्दुल रशीद हुन् ।

यस बाहेक अन्य द्विपक्षीय र क्षेत्रीय मुद्दाहरूका विषयमा पनि नेताबीच छलफल भएको समाचारमा जनाइएको छ ।

प्रतिकृया दिनुहोस