रिपोर्ट बुधबार, कात्तिक २७, २०७६

अब घरघरमै व्यावसायिक कामदार

लक्ष्मी बस्नेत

भरपर्दो कामदार नपाएका र कामको खोजीमा रहेकाहरूका लागि घरेलु कामदार आपूर्ति गर्ने संस्था एवं कम्पनी सहयोगी बनेका छन्।

घरेलु श्रमिकको तालिम लिंदै महिला ।

पुरानो बानेश्वर, काठमाडौंका रविन र सञ्जिता पौडेल दम्पतीलाई एक वर्ष अघिसम्म कार्यालयमा काम गरिरहँदा दिउँसो स्कूलबाट फर्किने छोरी लिन पुग्नुपर्ने धपेडीले छोप्थ्यो । बडो मुश्किलले अफिसबाट आलोपालो निस्किएर घरमा छोरीलाई खाजा खुवाउने र रेखदेखको काम सम्हाल्थे ।

लाजिम्पाटस्थित एक ब्याङ्कमा कार्यरत सञ्जिता भन्छिन्, “पाँच वर्षीया छोरी साढे ३ बजे स्कूलबाट आएपछि खाजा खुवाउने र बेलुकाको खाना समेत पकाउने गरी कामदार राखेको एक वर्ष भयो । अहिले ढुक्क छ ।”

घरायसी कामकाज सम्हाल्न समस्या भोगिरहेका सञ्जिता जस्ता धेरैलाई लक्षित गरेर पछिल्ला वर्षहरूमा काठमाडौंसहित ठूला शहरी क्षेत्रमा विभिन्न संस्था र कम्पनीहरूले घरेलु कामदार आपूर्ति गर्न थालेका छन् ।

यिनीहरूले कामको प्रकृति हेरेर महिला र पुरुष कामदार पूर्णकालीन र निश्चित समयको लागि (पार्ट टाइम) उपलब्ध गराउँछन् । जसबाट कामदार खोज्नेलाई मात्र सहज भएको छैन, कामको खोजीमा रहेकाहरूले रोजगारी समेत पाएका छन् ।

दम्पतीकै बढ्दो माग

कामदार आपूर्ति गर्ने संस्था तथा कम्पनीहरूले घरेलु श्रमिक (हाउसमेड), सुत्केरी तथा बिरामी स्याहार्ने, कार्यालय एवं व्यावसायिक भवनहरूको सरसफाइ (हाउस किपिङ) गर्नेदेखि घरपाले र मालीहरूसम्मको सेवा उपलब्ध गराउँदै आएका छन् ।

यी काममध्ये भातभान्सा, सरसफाइ आदि गर्न महिला कामदारको माग सबैभन्दा बढी हुने गरेको छ ।

२०६७ सालदेखि घरेलु र कार्यालय प्रयोजनका कामदार उपलब्ध गराउँदै आएको एक्टिभ डोमेस्टिक वर्कर कन्सल्टेन्सीका अध्यक्ष प्रशान्त डङ्गोलका अनुसार, एकल परिवारको प्रचलन बढेका कारण घरेलु कामदारको माग ह्वात्तै बढेको छ ।

“पहिले धनीमानीको घरमा मात्र काम गर्ने मान्छे राख्ने प्रचलन र मान्यता थियो, अहिले भने एकल परिवार र कामकाजी हुने अभ्यासले घरेलु कामदारको माग बढेको छ”, डङ्गोल भन्छन् ।

घरेलु श्रमिक महिलाको हक–अधिकारका लागि केन्द्रित घरेलु श्रमिक मञ्च र स्वतन्त्रता अभियान नेपालले दुई वर्ष अघि गरेको सर्वेक्षणले समुदायमा घरेलु श्रमिकको महत्व बढ्दो रहेको देखाएको छ । २०० जना रोजगारदातासँगको सर्वेक्षणमा घरेलु श्रमिक नभएमा आफ्नो काममा जान ढिला हुने, जागिर छाड्नुपर्ने अवस्था निम्तिने, तारन्तार बिदा लिइरहनुपर्ने जस्ता समस्या बताएका थिए ।

घरेलु कामदारमध्ये पनि दैनिक सरसफाइ, भातभान्सा र बच्चा हेरचाह आदि कामका लागि महिलाको माग बढी छ । डङ्गोलका अनुसार, घर कुरुवा, सुरक्षागार्ड र घरका पुरुष सदस्य बिरामी छन् भने मात्र पुरुष कामदारको माग हुने अन्यथा घरेलु काममा अधिकांश माग महिला कामदारकै हुन्छ । अपवाद बाहेक कामदारको सेवाप्रति सबैजसो घर तथा रोजगारदाता सन्तुष्ट रहेको उनी बताउँछन् ।

काठमाडौं चाबहिलकी शर्मिला खत्री तिनै सन्तुष्ट रोजगारदातामध्ये पर्छिन् । कामदार ल्याउनु अघि संस्थाका प्रतिनिधि र कामदारसँग कुराकानी गरेकी उनी संस्था मार्फत सेवा लिंदा काम गर्नेहरू जिम्मेवार हुने बताउँछिन् । “कामदारलाई सम्बन्धित कामको तालिम दिएर के गर्ने, के नगर्ने भन्ने पनि सिकाइएको हुँदो रहेछ”, खत्री भन्छिन् ।

घरेलु श्रमिक महिलाको हक–अधिकारका लागि केन्द्रित घरेलु श्रमिक मञ्च र स्वतन्त्रता अभियान नेपालले दुई वर्ष अघि गरेको सर्वेक्षणले समुदायमा घरेलु श्रमिकको महत्व बढ्दो रहेको देखाएको छ । २०० जना रोजगारदातासँगको सर्वेक्षणमा घरेलु श्रमिक नभएमा आफ्नो काममा जान ढिला हुने, जागिर छाड्नुपर्ने अवस्था निम्तिने, तारन्तार बिदा लिइरहनुपर्ने जस्ता समस्या बताएका थिए ।

यस्ता संस्था मार्फत कामदार लिंदाको फाइदा के हो भने, केही गुनासो भए संस्थालाई नै भन्न पाइन्छ । कामदार चित्त नबुझ्े अर्को कामदारको प्रबन्ध मिलाइदिन्छ ।

पाँच वर्षदेखि बेरोजगार र रोजगारदाताबीच पुलको काम गरिरहेको रोजगारी पसल (रोजगारी डटकम) ले कामदार राखिएको घरमा नियमित अनुगमन गरेर दुवै पक्षको प्रतिक्रिया लिने, चित्त नबुझेका कामदार फेर्ने जस्ता सेवा दिंदै आएको छ ।

कम्पनीले दैनिक आठ घण्टा खट्ने कामदार उपलब्ध गराए बापत एक पटक सेवा शुल्क रु.५ हजार लिएर यस्तो सेवा दिन्छ । कामदार आपूर्ति गर्ने प्रायः संस्थाले यसैगरी रोजगारदाताबाट कामको प्रकृति र ‘फुल टाइम’ वा ‘पार्ट टाइम’ कामदार राखेको आधारमा शुल्क लिने गरेका छन् ।

रोजगारी पसलले ‘यहाँ काम र कामदार पाइन्छ’ भन्ने सूचनासहित काठमाडौं (शान्तिनगर) सहित इटहरी, विराटनगर, पोखरा, वीरगञ्ज र नेपालगञ्जमा सटर नै खोलेर काम गरिरहेको छ ।

कम्पनीले सम्पर्कमा आउने कामदारलाई तालिम दिएर माग भएका घर तथा कार्यालयमा पठाउने गरेको छ । कामदारमा कम पढेलेखेका र अशिक्षितलाई प्राथमिकता दिएको बताउने रोजगारी पसलका व्यवसाय प्रबन्धक संजीवकुमार निरौला भन्छन्, “रोजगारदातासँग शुल्क लिए पनि कामदारसँग भने तालिम\अभिमुखीकरण निःशुल्क दिएर रोजगारीको विकल्प दिइरहेका छौं ।”

‘हाम्री बहिनी’ संस्थाले पनि पाँच वर्षयता घर तथा कार्यालयहरूमा चिया\खाना पकाउने, सरसफाइ गर्ने महिला कामदार आपूर्ति गरिरहेको छ ।

संस्थाकी प्रमुख सुस्मिता शर्मा पढेलेखेका महिलाले घर र बालबच्चा हेर्नुपर्ने जिम्मेवारीका कारण जागिर खान नपाउने र नपढेकाहरूले काम नपाउने अवस्था नआओस् भनेर यस्तो सेवा शुरू गरेको बताउँछिन् । “घरभित्रको भातभान्सा र बच्चा हेर्ने कामबाट एक जना महिलाले आम्दानी गर्दा अर्को महिलाले ढुक्कसाथ जागिरमा जान पाउँछिन्”, शर्मा भन्छिन् ।

रोजगारदाता र कामदार दुवैलाई फाइदा

कामदार आपूर्ति गर्ने संस्था, कामदार र रोजगारदाताका अनुसार, संस्था मार्फत काममा जाने र कामदार लिने दुवैलाई फाइदा हुन्छ । रोजगारदाताले खोजेको कामको प्रकृति अनुसार चाहेको समयका लागि तालिमप्राप्त कामदार पाउँछन् भने कामदारले पनि रोजगारीको असीमित विकल्प पाउँछन् ।

व्यक्तिगत समझ्दारीमा काम गर्दा श्रमशोषण लगायत विभिन्न झ्ञ्झ्ट भोग्नुपरे पनि संस्था र कम्पनी मार्फत काम गर्दा धेरै सहज भएको कामदारहरूको अनुभव छ ।

कैलालीकी नारायणी चौधरी रोजगारी पसल मार्फत चाबहिल मित्रपार्कको एक घरमा काम गरिरहेकी छन् । एक छोराकी आमा उनी निरक्षर भए पनि घरेलु कामदारका रूपमा व्यवस्थित इलम गर्न पाएको भन्दै खुशी साट्छिन् । चौधरीले टेलिफोनमा भनिन्, “ज्यालादारी काम गाह्रो भएर के गर्ने भनेर खोजी गर्दा घरमा बसेरै गर्ने काम पाएँ । यही घरमै आमा–छोरा बस्छौं, राम्रो छ ।”

कामदार उपलब्ध गराउने संस्था र कम्पनीहरू कामदारको श्रमशोषण नहुने दाबी गर्छन् । उनीहरूका अनुसार, श्रम ऐन अनुसार न्यूनतम पारिश्रमिक मासिक रु.१३ हजार ४५० र ऐन अनुसारकै सेवा–सुविधा श्रमिकले पाउने गरी रोजगारदातासँग सम्झाैता गरिदिने गरेको बताउँछन् ।

पार्ट टाइम, घरमै सधैं बस्ने\पढ्ने वा आठ घण्टा काम गर्ने तीन किसिमको प्रकृति अनुसार संस्थाको रोहबरमा पारिश्रमिक र सेवा–सुविधामा सम्झाैता हुने गरेको संस्थाका प्रतिनिधिहरूको भनाइ छ ।

घरेलु श्रमिकलाई सरकारले श्रमिकको रूपमा स्वीकार गरेर पारिश्रमिक र सेवा–सुविधा तोक्नुपर्छ । श्रम ऐन, २०७४ को धारा ८८ मा घरेलु श्रमिक सम्बन्धी छुट्टै न्यूनतम पारिश्रमिक तोकिनुपर्ने, तोकिए बमोजिमको बिदा लगायत सेवा–सुविधा दिनुपर्ने व्यवस्था गरिए पनि अहिलेसम्म तोकिएको छैन ।

नेपाल सरकार, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले कामदार आपूर्ति गर्ने संस्था\कम्पनी तथा यस मार्फत कामदार लिनेहरूले श्रम ऐन पालना गर्नुपर्ने व्यवस्था गरेको छ ।

रोजगारी पसलका व्यवसाय प्रबन्धक निरौला रोजगारदाताले श्रम ऐन अनुसार सेवा–सुविधा दिन नमान्दा र वातावरण राम्रो नहुने देखिए कामदार नपठाउने बताउँछन् । यसैले पनि सन् २०१९ को अक्टोबरसम्ममा रोजगारी पसलमा करीब ५०० जना कामदारको माग भए पनि १५० जना मात्र पठाएको उनी बताउँछन् ।

नुवाकोटकी जानुका बुढाथोकी संस्थामा काम सिकेर जाँदा सजिलो भएको अनुभव सुनाउँँछिन् । गाउँमा माटोले घर लिपेकी उनलाई काठमाडौंको घर कसरी सफा गर्ने, ग्यास र राइसकुकरमा कसरी खाना पकाउने होला भन्ने लाग्थ्यो । “त्यस्ता सबै काम संस्थाले सिकाएपछि कुनै गाह्रो भएन”, उनी सुनाउँछिन् ।

गाउँबाट आएका धेरै महिलाले व्यक्तिगत हिसाबले घरहरूमा काम गर्दा वासिङ मेसिन, भ्याकुम क्लिनर, खाना पकाउने प्रविधिहरू चलाउन नजानेर गालीगलौज र दुर्व्यवहारको सामना गर्नुपर्ने संभावना बढी हुन्छ । तर संस्था र कम्पनी मार्फत काम सिकेर गएपछि त्यस्तो दुर्व्यवहार भोग्नु नपर्ने हाम्री बहिनी की कार्यक्रम प्रमुख शर्मा बताउँछिन् ।

घरेलु श्रमिकहरूको संख्या बढिरहँदा यस्तो श्रमलाई सम्मानजनक बनाउन सकिए यही कामका लागि विदेशिनेहरूले स्वदेशमै रोजगारी गर्ने घरेलु श्रमिक मञ्चकी सचिव गोमा भण्डारी बताउँछिन् ।

यसका लागि घरेलु श्रमिकलाई सरकारले श्रमिकको रूपमा स्वीकार गरेर पारिश्रमिक र सेवा–सुविधा तोक्नुपर्ने उनको भनाइ छ । श्रम ऐन, २०७४ को धारा ८८ मा घरेलु श्रमिक सम्बन्धी छुट्टै न्यूनतम पारिश्रमिक तोकिनुपर्ने, तोकिए बमोजिमको बिदा लगायत सेवा–सुविधा दिनुपर्ने व्यवस्था गरिए पनि अहिलेसम्म तोकिएको छैन ।

श्रम मन्त्रालय अन्तर्गत गठित श्रमिकको पारिश्रमिक निर्धारण समितिका सदस्य एवं ट्रेड युनियन महासंघ (जिफन्ट) का उपाध्यक्ष दीपक पौडेल छुट्टै व्यवस्था नहुन्जेल अन्य श्रमिक सरह ८ घण्टा ड्यूटीको न्यूनतम मासिक पारिश्रमिक १३ हजार ४५० रुपैयाँ हुने बताउँछन् ।

“पार्ट टाइम काम गर्नेको कार्य–घण्टा अनुसार तथा खाने\बस्ने गरी रोजगारदाताकै घरमा बसे मासिक पारिश्रमिकमा एकतिहाइ कटाएर दिनुपर्ने गरी परिपत्र भएको छ”, पौडेल भन्छन् ।

 

प्रतिकृया दिनुहोस