आज गुरु नानक जयन्ती (भिडियाे सहित)
– एस उपाध्याय
शिख धर्मका प्रवर्तक गुरु नानकको ५५०औँ जन्मजयन्ती मंगलबार विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
उनकाे जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो ।
शिख धर्मग्रन्थ ‘गुरु गन्थ साहिब’ को रचना गरेका नानकले जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको शुरुआत गराएका थिए ।
गुरुका अनुयायी भारत पाकिस्तान लगायत नेपालमा रहेका छन् । गुरु नानक जयन्तीका अवसरमा काठमाडौंको पशुपतिमा ‘गुरु गन्थ साहिब’ पाठ र साधुसन्तलाई भण्डारा गरिएको थियो ।
शिख समुदायका धर्म गुरु गुरु नानकको मंगलबार वीरगञ्जमा ५५० औं जन्मजयन्ती मनाइएको छ ।
आजको दिनलाई गुरु नानक प्रकाशोत्सव र गुरुपर्व पनि भनिन्छ र संसारभरका शिख धर्मावलम्बीहरूले बडो श्रद्धाका साथ मनाउने गर्दछन् ।
कात्तिक पूर्णिमाकै दिन शिख धर्मका दश विशेष गुरुमध्येका प्रथम गुरु गुरु नानकको जन्म भएको हो ।
शिखहरूको दैनिक पूजाआजाको पवित्र स्थल गुरुद्वारामा धर्मावम्बीहरूले प्रभातफेरीका साथ जन्मजयन्तीको शुरुवात गरियाे । प्रभातफेरीमा विभिन्न प्रकारका मन्त्रोच्चारण, भजन र गुरुको महिमाको वर्णन गरिएकाे थियाे ।
विहान भजन गाइयाे । जसलाई ‘असा दि वार’ भनिन्छ । यस्ता भेलाहरूलाई ‘अमृत भेला’ भनिन्छ र ‘अमृत भेला’ पछि ‘लंगर’ अर्थात निःशुल्क सामुदायिक भोजन गराइएकाे थियाे ।
यस्ता भोजका आयोजनामा कुनै पनि जात, वर्ण, लिंग वा समुदायका मान्छेलाई त्यसमा सहभागी हुन छुट हुन्छ । यो सामाजिक सहिष्णुताको एउटा अद्भूत उदाहरण त हो नै भक्ति र सेवाको मार्गमा समाजका सबैजना समान छन् भन्ने सन्देश पनि दिएको छ ।
देशका विभिन्न स्थानमा गुरुद्वारा रहेका छन् । ती सम्पूर्ण स्थानमा अनेक कार्यक्रमको आयोजना गरी गुरू नानकलाई सम्झिइने गरिन्छ ।
वीरगञ्जको गुरुद्वारामा भेला भएका शिख लगायत अन्य धर्म र सम्प्रदायका मानिसको पनि उत्साहजनक संलग्नता पाइयो ।