ब्याडमिन्टनमा डाक्टर र पूर्वअधिकृतको जोडी प्रथम
कालुराम, सुरजमल स्मृति प्रदेश १ स्तरीय तीनदिने ब्याडमिन्टनमा ५५ वर्ष माथिको उमेर समूहबाट चिकित्सक र पूर्व अधिकृतको जोडी प्रथम भएको छ ।
कालुराम, सुरजमल स्मृति प्रदेश १ स्तरीय तीनदिने ब्याडमिन्टन प्रतियोगिताको फाइनल बिहीबार विराटनगरमा सम्पन्न भएको हो ।
सो समूहबाट विराटनगरका मुटुरोग विशेषज्ञ डा. मनोज लाखे र नेपाल सरकारका पूर्व अधिकृत राम श्रेष्ठ प्रथम, पुष्पधन शाक्य र किरणसिंह बस्नेत दोस्रो तथा तुलसी सुवेदी र भोजराज रखेल तृतीय भए ।
४५ वर्ष माथिको समूहबाट मोरङ जिल्ला खेलकुद विकास समितिका निवर्तमान सदस्य विनोद डाँगी र पूर्व प्रहरी सहायक निरीक्षक मिलन नेम्वाङको जोडी प्रथम भएको छ ।
सोही समूहबाट किरण प्रधान र यज्ञेश्वर श्रेष्ठ द्वितीय, संदीप श्रेष्ठ र श्रीप्रसाद धिमाल तथा श्याम लामा र सुरेश कार्की तृतीय भए ।
खुल्ला प्रतियोगितामा चाणक्य पाठक र नवीन सिलवाल प्रथम, प्रकाश राई र रवीन साउदेन द्वितीय, यादव श्रेष्ठ र शशी चौधरी तथा दीपेन्द्र बस्नेत र कुमार रमौली तृतीय भए ।
विराटनगरका मेयर भिम पराजुलीले प्रथम हुनेलाई रु २१ हजार, द्वितीयलाई रु १५ हजार र तृतीयलाई रु १० हजार पुरस्कार प्रदान गरे ।
बाजे कालुराम र बाबु सुरजमल तोदीका नाममा व्यवसायी छोरा अंकित अग्रवालको प्रायोजनमा विराटनगर ब्याडमिन्टन क्लबले सो प्रतियोगिता हरेक वर्ष गर्दै आएको छ ।