रिपोर्टशनिबार, २ कार्तिक , २०७६

ओकिनावामा झुम्मिएका नेपाली

हिमालखबर

–चार्लेन चुवा, ओकिनावा

अनुकूल मौसम र सातामा २८ घण्टासम्म काम गर्न पाइने नीतिका कारण जापान पुगेका अधिकांश नेपाली विद्यार्थीहरू ओकिनावामै भेटिन्छन् । 

सिटीमार्टमा कार्यरत् रामचन्द्र भण्डारी (३२), र राम पाण्डे (३२) ले जापानी भाषा स्कूलमा नेपाली विद्यार्थीलाई खाना बिक्री गर्छन् । रेमिटेन्स पठाउन पनि सहयोग गर्छन् ।

काठमाडौंकी २७ वर्षीय अनिता सापकोटा सुखी जीवनको खोजी गर्दै पाँच वर्षअघि साथीभाइ र परिवार छाडेर जापानको उष्णप्रदेशीय द्वीप ओकिनावा पुगिन् । जापानकै नाहामा शिव महल रेस्टुरेन्ट चलाइरहेका नेपालीसँग बिहे गरेकी उनी अहिले अंग्रेजी शिक्षक बन्न विश्वविद्यालय अध्ययन गरिरहेकी छन् ।

अनिता काठमाडौं हुँदा एउटा ट्राभल एजेन्सीमा काम गर्थिन्, तर उनले आफ्नो पढाइ चार हजार किलोमिटर टाढा गएर पूरा गर्ने निर्णय गरिन् । “पहिले त म धेरै रोएँ, परिवार छाडेर जाने चाहना थिएन” उनले भनिन्, “ कहिले फर्किन्छु पनि थाहा थिएन ।” 

श्रीमानको रेस्टुरेन्टमा सघाउँदै अनिता सापकोटा (२७) ।

पछिल्लो १० वर्षमा जापानमा नेपालीको जनसंख्या १० गुणाले बढेको छ । अहिले कम्तीमा ८० हजार नेपाली जापानमा रहेको अनुमान गरिन्छ ।  धेरै त ओकिनावामै बस्छन् । ओकिनावा जापानका अन्य द्वीपहरूभन्दा केही तातो र शान्त ठाउँ हो । ओकिनावामा रहेका विदेशी श्रमिकमध्ये नेपाली सबैभन्दा बढी २४.६ प्रतिशत छन् । त्यसपछि १६.४ प्रतिशत भियतनामी र १२.५ प्रतिशत फिलिपिनी छन् ।

स्थानीय कलेजहरुले सातामा २८ घन्टासम्म काम गर्ने अनुमति दिएकाले पनि नेपाली विद्यार्थीहरू ओकिनावा आउन मन पराउँछन् । यो अष्ट्रेलियाका विश्वविद्यालयले दिनेभन्दा बढी समय हो ।

ओकिनावामा कराँते सिकिरहेका लक्ष्मण ओझा ।

अन्तर्राष्ट्रिय विद्यार्थीले जापानमा रोजगारी पाउने अर्को कारण पनि छ । जापान सरकारले अहिले जापानको पुनःस्थापना रणनीतिअन्तर्गत स्थानीय कम्पनीहरूलाई बढी भन्दा बढी विदेशी श्रमिकलाई रोजगारी दिन प्रोत्साहित गरिरहेको छ ।

सुवास त्रिपाठीलाई जापानको मेनल्यान्ड भन्दा ओकिनावाको संस्कृति मन पर्छ । त्रिपाठी पहिले एउटा जापानी भाषा स्कूलमा अध्ययन गर्थे, अहिले ओकिनावा इन्टरनेशनल युनिभर्सिटीमा पढिरहेका छन् । “मलाई ओकिनावाको मौसम खुब राम्रो लाग्छ र यहाँका मानिसहरू पनि उत्तिकै दयालु छन्”, २७ वर्षीय त्रिपाठी भन्छन् । धेरै नेपाली डिपार्टमेन्टल स्टोरमा काम गर्न रुचाउँछन्, किनभने उनीहरूले ग्राहकसँगको कुराकानीबाट जापानी भाषा अभ्यास गर्न पाउँछन् ।

नारायण बराल (२८) साँझ कलेज जानुअघि प्यासिफिक होटलमा ‘पार्ट टाइम’ वेटरको काम गर्छन् ।

ओकिनावा आउनेवित्तिकै विद्यार्थीलाई सहज भने छैन । आउनेवित्तिकै दुई वर्ष जापानी भाषा पढन लगभग ११ हजार ५०० अमेरिकी डलर बुझाउनुपर्छ । यसबाहेक जापान आउँदा लिएको ऋण तिर्न पनि काम गर्नुपर्छ । आर्थिक कठिनाइबाट मुक्त हुन प्रतिघन्टा ७.४ अमेरिकी डलरका दरले एकैजना विद्यार्थीले धेरै ठाउँ काम खोज्ने जोखिम पनि छ । जोखिम यसकारण कि धेरै ठाउँमा काम गरेको थाहा पाए उनीहरुलाई सरकारले देशनिकाल पनि गर्नसक्छ ।

लक्ष्मण ओझा ६ बजेपछि इटोमन सिटीमा उरासो शहरतर्फ लाग्छन् । त्यहाँ सातामा तीन दिन कराँते सिक्छन् । ओझा ८ वर्षदेखि ओकिनावामा बसिरहेका छन्, र उनलाई ओकिनावाका स्थानीयसँग  घुलमिल हुन कुनै समस्या छैन । तर, यहाँ आइपुग्ने नवआगन्तुकले भाषा र सांस्कृतिक भिन्नताका कारण धेरै संघर्ष गर्नुपरिरहेको उनको भनाइ छ ।

३९ वर्षीय कवि कक्षपतिले सन् २०१५ मा खोलेको कान्तिपुर करी हाउस । रेस्टुरेन्टका अर्का नेपाली ग्राहक मणि पोखरेल (२६) र कुक कृष्ण शाही (४३) (दायाँ) ।

“कसैले नसिकाउने हो भने उनीहरूले गल्ती गर्न सक्छन्, यो दुवै समुदायका लागि राम्रो होइन” कराँतेमा ब्ल्याक बेल्ट ३२ वर्षीय ओझा भन्छन् ।

अहिले कठिन संघर्ष गर्नुपरे पनि भविष्य उज्ज्वल हुने अनिताको भरोसा छ । “ओकिनावाले मलाई कडा परिश्रमको अर्थ, परिवार र साथीहरूको महत्व बुझाएको छ”, उनी भन्छिन्, “मेरो उद्देश्य यहाँ काम गर्नु मात्र होइन, सम्मानित जागिर पाउनु र देश फर्कनुअघि आदर पाउने वातावरण सिर्जना गर्नु पनि हो ।”

(सिंगापुरको नान्याङ प्राविधिक विश्वविद्यालयमा अध्ययरत् चुवा एडभान्स रिपोर्टिङका क्रममा ओकिनावा पुगेकी थिइन् ।)

 

 

प्रतिकृया दिनुहोस