उपनिर्वाचनको तयारी पूराः आयाेग
१४ मंसीरमा हुने उपनिर्वाचनको सवै तयारी पूरा भएको जिल्ला निर्वाचनको कार्यालय मोरङले जनाएको छ ।
मोरङको धनपालथान गाउँपालिका–२ का वडाध्यक्षको मृत्यु भएकाले त्यहाँ उपनिर्वाचन हुँदैछ ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) तर्फबाट विजयी उम्मेदवार बलिराम भगतको २४ जेठ २०७५ मा मृत्युको भएको थियो ।
उक्त स्थानमा हुने उप निर्वाचनमा चार हजार १४२ मतदाताले मतदान गर्ने छन् । अमाही गाउँपालिका केन्द्र र जनता माध्यमिक विद्यालय मझौवरियाती गरी दुई मतदानस्थलमा पाँच केन्द्र रहने कार्यालयका सूचना अधिकारी तीर्थ अधिकारीले बताए ।
गाउँपालिका भवनमा रहेको मतदानस्थलको दुई केन्द्रमा एक हजार ८३५ र जनता मावि मतदानस्थलको तीन केन्द्रमा दुई हजार ३०७ मतदाताले मतदान गर्ने छन् । १७ साउनमा अगाडि १८ वर्ष पुगेका नेपाली नागरिकले उक्त उपनिर्वाचनमा मतदान गर्न पाउने छन् ।
उपनिर्वाचनको शान्ति सुरक्षाका लागि आवश्यक्ता अनुसार सशस्त्र र नेपाली प्रहरीको व्यवस्था हुने सूचना अधिकृत अधिकारीले जानकारी दिए । प्रत्येक मतदान केन्द्रमा न्यूनतम नौ देखि ११ जना कर्मचारी खटाइने भएको छ । उप निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय केन्द्रीय निर्वाचन आयोग कार्यालयले तोकेबमोजिम स्थापना हने उनको भनाइ छ ।
मोरङ जिल्लामा १७ साउन २०७६ सम्ममा महिला तीन लाख ३० हजार ९८१, पुरुष तीन लाख ४१ हजार ४१२ र तेश्रो लिङ्गी दुई जना गरी जम्मा छ लाख ७२ हजार ९७५ मतदाता छन् ।
प्रदेश नं १ अन्तर्गतको पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष र फिदिम नगरपालिकाको वडा नं १ र ७ का वडाध्यक्ष, मोरङको धनपालथान गाउँपलिकाको वडा नं २ का वडाध्यक्ष, सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख र वडा नं ७ का वडाध्यक्षको उपनिर्वाचन हँुदैछ ।
संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष, खाँदबारी गाउँपालिका–३ को वडाध्यक्ष, खोटाङको साकेला गाउँपालिका वडा नं ३ को वडाध्यक्ष र भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिका–१ को वडाध्यक्ष गरी ६ जिल्लाका १० विभिन्न पदमा उपनिर्वाचन हुने भएको छ ।