युवा खेलाडीहरु सम्मिलित क्रिकेट टीम सिंगापुर जाँदै
सिंगापुर र ओमान हुने सिरिजका लागि नेपाली राष्ट्रिय टीम सिंगापुर जाँदैछ । बुधबार नै टोली सिंगापुर जानेछ ।
यस पटक भने कप्तान पारस खड्का पुरापुर युवा खेलाडीको टीम सहित सिंगापुर जादैछन् । सिंगापुरमा हुने त्रिदेशीय सिरिज र ओमानमा हुने पाँच राष्ट्र बीचको खेलमा ३० कटेकाले खेलाडी कप्तान पारस एक्ला हुन् ।
पारससँगै, उपकप्तान ज्ञानेन्द्र मल्ल, ब्याट्सम्यान शरद भेषवाकर र बलर बसन्त रेग्मी टीममा परेका छैनन् । पारस पछि टीमका सिनियर खेलाडी हुन्, बिनोद भण्डारी ।
तर, भण्डारी उपकप्तानको जिम्मेवारी नदिई जुनियर टीमको कप्तानी भूमिका निर्वाह गरिसकेका दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । ऐरी ब्याटिङ अलराउण्डर हुन् ।
कप्तान खड्काले नयाँ टीमको तयारीका क्रममा युवा खेलाडीलाई राष्ट्रिय टीममा पारिएको बताइसकेका छन् । आफैंले पनि २०२३ को विश्वकपसम्म खेल्ने वा नखेल्ने निश्चित नभएको बताउँदै खड्काले नेपाली क्रिकेटलाई अगाडि बढाउन युवाहरुलाई अगाडि बढाउन थालिएको बताएका छन् ।
हुन पनि, यस पटकको टीममा पारस र बिनोद बाहेक कोही पनि २५ वर्ष नाघेका खेलाडी छैनन् । बिनोद (२८) पछि सोमपाल कामी र करण केसी पुराना खेलाडी हुन् । उनीहरु पनि २५ कटेका छैनन् ।
यसबाहेक धेरैजसो खेलाडी यू–१९ का खेलाडी हुन् भने केहीले भर्खरै मात्रै यू–१९ छोडेर राष्ट्रिय टीममा खेलिरहेका छन् ।
नेपाली टीमः पारस खड्का, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, सन्दीप लामिछाने, सन्दीप जोरा, ललितनारायण राजवंशी, पवन सर्राफ, अभिनास बोहरा, कुशल मल्ल, आरिफ शेख, रोहितकुमार पौडेल, सुसन भारी, इशान पाण्डे।