टी-२० विश्वकप : इङ्ल्यान्ड आठ विकेटले विजयी
आईसीसी पुरुष टी-२० विश्वकपको ‘सुपर एट’ चरणमा इङ्ल्यान्डले विजयी शुरूआत गरेको छ।
इङ्ल्यान्डले वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गरेको हो। टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १८० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको इङ्ल्यान्डले १७ ओभर तीन बलमा दुई विकेटको क्षतिमा लक्ष्य भेटायो।
वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले ३८, निकोलस पूरन र रोभमन पावेलले समान ३६, शेरफेन रदरफोर्डले २८ तथा ब्रान्डन किङले २३ रन बनाएका थिए। आन्द्रे रसल एक रनमा आउट भए भने रोमारियो शेफर्डले पाँच रन बनाएका थिए।
इङ्ल्यान्डका लागि जोफ्रा आर्चर, आदिल रशिद, मोईन अली र लियम लिभिङस्टोनले एक/एक विकेट लिएका थिए। ब्याटिङतर्फ इङ्ल्यान्डका लागि फिल साल्टले अविजित ८७ रन बनाए। उनी ‘प्लेयर अफ द म्याच’ पनि बने। यस्तै, जोनी बेयरस्टोले ४८, जोस बट्लरले २५ तथा मोईन अलीले १३ रनको पारी खेले।
बलिङतर्फ वेस्ट इन्डिजका आन्द्रे रसल र रोस्टन चेजले एक/एक विकेट लिए।