टी-२० विश्वकप : दक्षिण अफ्रिका १८ रनले विजयी
आईसीसी पुरुष टी-२० विश्वकप २०२४ अन्तर्गत ‘सुपर एट’ चरणको पहिलो खेलमा दक्षिण अफ्रिका विजयी भएको छ।
गए राति सम्पन्न संयुक्त राज्य अमेरिका विरुद्धको खेलमा दक्षिण अफ्रिका १८ रनले विजयी भएको हो। टस हारेर शुरूमा दक्षिण अफ्रिकाले ब्याटिङ गरेको थियो। दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १९४ रन बनायो। दक्षिण अफ्रिकाका लागि क्विन्टन डीककले सर्वाधिक ७४ रनको पारी खेले। यस्तै, एडेन मारक्रमले ४६, हेनरिक क्लासेनले ३६, ट्रिस्टन स्टब्सले २० रन बनाए।
बलिङतर्फ अमेरिकाका लागि सौरभ नेत्रावलकर र हरमीत सिंहले समान दुई विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रन मात्र बनायो। अमेरिकाका लागि एन्ड्रिस गउसले सर्वाधिक ८० रन बनाए। त्यस्तै, हरमीत सिंहले ३८, स्टिभन टेलरले २४ रन जोडे।
बलिङतर्फ दक्षिण अफ्रिकाका कागिसो रबाडाले तीन विकेट लिए भने केशव महाराज, एनरिच नोर्टे र तबरेज शम्सीले समान एक एक विकेट लिए।
सुपर एट चरण अन्तर्गत हाल वेस्ट इन्डिज र इङ्ल्यान्डबीचको खेल भइरहेको छ। आजै भारत र अफगानिस्तानबीच पनि खेल हुँदै छ। भारत र अफगानिस्तानबीचको खेल नेपाली समय अनुसार राति ८:१५ मा शुरू हुनेछ।