नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित
आईसीसी टी-२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ।
वेस्ट इन्डिजमा आइतबार बिहान भएको खेलमा नेपाल पराजित भएको हो। दक्षिण अफ्रिकाले दिएको ११६ रन लक्ष्य पछ्याउने क्रममा नेपाल ११४ रनमै समेटियो।
नेपालका लागि आशिफ शेखले ४२, अनिल साहले २७, कुशल भुर्तेलले १३, सोमपाल कामीले आठ, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले ६/६ रन बनाए।
दक्षिण अफ्रिकाका लागि तबरेज शम्सीले चार, एनरिच नोर्जे र एडेन मारक्रमले एक-एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको दक्षिण अफ्रिकाले सात विकेट गुमाउँदै ११५ रन बनाएको थियो। दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्सले ४३, ट्रिस्टन स्टब्सले २७, एडेन मारक्रमले १५, क्विन्टन डिककले १० र डेभिड मिलरले सात रन बनाए।
नेपालका लागि कुशल भुर्तेलले चार र दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए।
यो हारसँगै नेपालको ‘सुपर-८’ को सम्भावना सकिएको छ। दक्षिण अफ्रिका यसअघि नै ‘सुपर-८’ मा पुगिसकेको छ। अब बाङ्लादेश र नेदरल्यान्ड्स्मध्ये एक टोली अर्को चरणमा पुग्नेछ।
नेपालको अन्तिम खेल सोमबार बाङ्लादेशसँग हुनेछ।