किन सबैको नजर रफाहमा छ?
अहिले ‘ट्रेन्डिङ’ मा रहेको यस तस्वीरले गाजामा भइरहेको इजरायली नरसंहारप्रति संसारका युवाको ध्यान तानेको छ।
‘अल आइज् अन रफाह’ (सबैको नजर रफाहमा) लेखिएको एक तस्वीर अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेको छ। जेठ १४ मा सार्वजनिक भएको आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) निर्मित यस तस्वीर चार करोड ६० लाखभन्दा बढी पटक शेयर भइसकेको छ।
आखिर किन सबैको नजर अहिले प्यालेस्टाइनको गाजापट्टिमा इजिप्टसँग सीमा जोडिएको शहर रफाहमा छ? यसको जवाफ प्यालेस्टाइनमा इजरायलले गरिरहेको नरसंहारसँग जोडिएको छ।
२०८० असोज २० (७ अक्टोबर २०२३) मा प्यालेस्टाइनको सशस्त्र विद्रोही समूह हमासले गरेको आक्रमणको जवाफी कारबाहीस्वरूप इजरायलले जथाभावी बमबारी र स्थल आक्रमण शुरू गर्यो। गाजापट्टिको उत्तरी भेगमा इजरायलले आक्रमण थालेपछि त्यहाँ बसोबास गरिरहेका प्यालेस्टिनी सर्वसाधारण ज्यान जोगाउन रफाह शहरतिर जान बाध्य भए। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजीराका अनुसार गत फेब्रुअरीसम्म गाजाका २३ लाख मानिसहरू शरण खोज्दै रफाह शहर पुगे।
माघ २६ मा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले रफाहबाट सर्वसाधारणलाई हटाएर सैन्य कारबाही गर्ने योजना मन्त्रिपरिषद्मा प्रस्तुत गर्न इजरायलको सेनालाई आदेश दिए। हमासका चार वटा ब्रिगेडले त्यहाँ आश्रय लिइरहेको दाबी गर्दै त्यो योजना बनाइएको थियो। इजरायलको यस घोषणाको विश्वभर नै आलोचना भयो। माघ २७ मा साउदी अरब लगायत अरब देशहरूले रफाहमा हुन सक्ने इजरायली सैन्य कारबाहीको विरोधमा विज्ञप्ति नै जारी गरे।
त्यसपछि इजरायलका सहयोगी देशहरू संयुक्त राज्य अमेरिका लगायतले पनि पटक पटक रफाहमा आक्रमण नगर्न इजरायललाई चेतावनी दिइरहे।
वैशाख ७ मा संयुक्त राज्य अमेरिकाको नेतृत्वमा सात देशका परराष्ट्रमन्त्रीले रफाहमा हुन सक्ने इजरायली सैन्य कारबाहीले त्यहाँ रहेका सर्वसाधारणमा विध्वंसकारी क्षति पुर्याउने चेतावनी दिंदै विरोध जनाए। यद्यपि वैशाख १२ मा इजरायली सेनाले दुई ब्रिगेड सेना परिचालन गर्यो जसलाई इजरायली समाचार संस्थाहरूले रफाह आक्रमणका लागि पठाइएको जनाएका थिए।
वैशाख २४ मा इजरायलले एसएमएस पठाएर र हवाईजहाजबाट पर्चा फालेर रफाहको दक्षिण भेगमा रहेका सर्वसाधारणलाई त्यो ठाउँ छोड्न उर्दी जारी गर्यो। त्यसको अर्को दिन इजरायली हवाई आक्रमणमा रफाहमा कम्तीमा २५ जना सर्वसाधारण प्यालेस्टिनी मारिए जो शहरका विभिन्न घरमा आश्रय लिइरहेका थिए। त्यसरी मारिनेमा एकै परिवारका १३ जना पनि थिए। त्यसयता रफाहमा इजरायली आक्रमण जारी छ।
ट्रेन्डिङ तस्वीरको सिर्जना
गत माघमा रफाहमा आक्रमण गर्ने इजरायली उद्घोष भए लगत्तै गाजा र वेस्ट ब्यांकका लागि विश्व स्वास्थ्य संगठनका प्रतिनिधि रिचर्ड ‘रिक’ पीपरकर्नले रफाहमा हुन सक्ने आक्रमणप्रति ‘सबैको नजर’ रहेको धारणा राखेका थिए। उनको भनाइसँगै ‘सबैको नजर रफाहमा’ (अल आइज् अन रफाह) भन्ने नारा सामाजिक सञ्जालका पोस्ट र इजरायली नरसंहार विरोधी प्रचार सामग्रीमा देखिन थालेको थियो।
यद्यपि अहिले ट्रेन्डिङमा रहेको तस्वीरको सिर्जना भने जेठ १३ को इजरायली आक्रमणसँग जोडिन्छ।
अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे)ले रफाहमा भइरहेको आक्रमण रोक्न इजरायललाई आदेश दिएको दुई दिनपछि जेठ १३ गते इजरायलको बमबारीमा परेर रफाहमा कम्तीमा ४५ जना मानिस मारिए। पश्चिमी रफाहको सुरक्षित मानिएको ठाउँमै टेन्टमा आश्रय लिइरहेका शरणार्थी मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
द कन्भरसेशनका अनुसार अहिले ट्रेन्डिङ भइरहेको एआईसिर्जित तस्वीर इन्स्टाग्रामका प्रयोगकर्ता @shahv4012 ले सार्वजनिक गरेका हुन्।
यो तस्वीरको आलोचना पनि उत्तिकै भइरहेको छ। इजरायली आक्रमणको कुरूप तस्वीर देखाउने बीभत्स दृश्य प्रचार गर्नुको साटो सांकेतिक दृश्यको प्रसारणले युद्ध विरोधी मान्यता सिर्जना गर्न सक्छ त? यो प्रश्न बहसमा छ। यससँगै युद्धका तस्वीरहरू किन आवश्यक छन् भन्ने बहस पनि शुरू भएको छ।
यी तमाम बहस र छलफलका बावजूद अहिले ट्रेन्डिङमा रहेको तस्वीरले फेरि एक पटक गाजामा भइरहेको इजरायली नरसंहारप्रति संसारका युवाको ध्यान तानेको भने छ।
शान्तिवार्ताको प्रस्ताव
यसैबीच कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाका मध्यस्थकर्ताले इजरायल र हमासलाई जेठ १८ गते अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रस्ताव गरे अनुसारको शान्ति सम्झौतामा आउन आह्वान गरेका छन्।
बाइडेनले तीन चरणको युद्धविरामको प्रस्ताव गरेका छन्। पहिलो चरण ६ साताको हुनेछ जुन पूर्ण युद्धविरामको चरण हुनेछ। सो अवधिमा इजरायली सेना गाजाबाट फिर्ता हुनेछ। सोही चरणमा गाजामा हमासले बन्दी बनाएका व्यक्तिहरू र इजरायली जेलमा रहेका सयौं प्यालेस्टिनी पनि मुक्त गरिनेछन्। साथै गाजामा मानवीय सहयोग पनि पठाइनेछ।
बाइडेनले थप चरणमा गाजाको पुनर्निर्माण र स्थायी युद्धविरामको प्रस्ताव पनि गरेका छन्। तर इजरायली प्रधानमन्त्री नेतान्याहूले लक्ष्य पूरा नहुँदासम्म युद्ध जारी रहने अडान कायम राखेका छन्। हमासले भने बाइडेनको प्रस्तावलाई सकारात्मक रूपमा लिएको छ।
कतार, अमेरिका र इजिप्टले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा दुवै पक्षलाई बाइडेनले तय गरेको सिद्धान्तमा टेकेर युद्धविराम गर्न आह्वान गरिएको छ। ‘यो युद्ध अन्त्य गरेर नयाँ शुरूआत गर्ने समय हो,’ विज्ञप्तिमा उल्लेख छ।
(अल जजीरा, बीबीसी, अरब न्यूज, द कन्भरसेशनको सहयोगमा लक्ष्मण श्रेष्ठले तयार पारेको सामग्री।)