मंगले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ छिचोलियो
![मंगले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ छिचोलियो](https://www.himalkhabar.com/uploads/posts/800X600/MangaleSurung-1712799738.jpg)
म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ३७.५ मेगावाट क्षमताको मंगले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ छिचोलिएको छ।
आयोजनाको बाँध बनेको रघुगंगा गाउँपालिका-८, बन्दीको अडिट १ र खरिबोटस्थित अडिट २ जोड्ने सुरुङ बुधबार छिचोलिएको हो। आयोजनाका आवासीय इन्जिनीयर प्रकाश तिमिल्सिनाले अडिट १ र २ जोड्ने एक हजार ९०० मिटर लामो सुरुङ छेडिएको जानकारी दिए।
“अडिट २ र मलाङस्थित अडिट ३ जोड्ने एक हजार ८०० मिटर लामो सुरुङ यसअघि नै जोडिएको थियो,” उनले भने, “बाँधदेखि विद्युत्गृहमा पानी लैजान पाँच हजार ३२८ मिटर लामो सुरुङ निर्माण भएको छ।”
तीन वर्षअघि चार ठाउँबाट सुरुङ निर्माण शुरू भएको थियो।
यस्तै, बाँध नजिकै पानी थिग्र्याउने पोखरीको निर्माण पनि सकिएको छ। मलाङको ‘आउटलेट’ देखि चिमखोलाको बगरखोला र राहुघाटको दोभानमा निर्माणाधीन बाँध जोड्ने ९०० मिटर पाइपलाइन जडान भइरहेको छ। ३०० मिटर ‘पेनस्टक’ पाइप जोड्न बाँकी छ।
आउटलेट र विद्युत्गृहको उचाइ ३५० मिटर छ। विद्युत्गृह निर्माणलाई अन्तिम रूप दिनुका साथै ‘इलेक्ट्रोमेकानिकल’ उपकरण जडानको ४० प्रतिशत काम पूरा भएको छ।
यस आयोजनाको प्रवर्द्धक कम्पनी तुँदी पावरले राहुघाटमा एकसाथ दुई वटा जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। मंगले राहुघाटको विद्युत्गृह नजिकै बगरखोलाको पानी मिसाएर ४८.५ मेगावाट विद्युत् उत्पादन गर्ने अपर राहुघाट जलविद्युत् आयोजना पनि निर्माणाधीन छ।
करीब १४ अर्ब रुपैयाँको लागतमा २०७७ सालमा शुरू भएका दुई वटै आयोजनाको ८५ प्रतिशत भौतिक निर्माण पूरा भएको इन्जिनीयर तिमिल्सिनाले बताए। बगरदेखि दग्नाम गाउँको फेदीमा निर्माणाधीन विद्युत्गृह जोड्ने अपर राहुघाटको चार हजार ९०० मिटर लामो सुरुङ भने ६ महीनाअघि नै निर्माण भएको थियो।
अपर राहुघाटको विद्युत्गृह ७५ प्रतिशत र बाँध निर्माणको ५० प्रतिशत भौतिक प्रगति भएको छ। मंगले राहुघाटको सन् २०२४ को डिसेम्बर र अपर राहुघाटको जुन महीनामा विद्युत् उत्पादन गर्ने तयारी छ।
उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगंगा-३, अम्बाङमा बन्न लगेको राहुघाट ‘सबस्टेशन’ देखि चिमखोलासम्म २०० केभी क्षमताको १४ किलोमिटर लामो प्रसारण लाइन बनाउन थालिएको छ। -रासस