तीन वटा निर्वाचन क्षेत्रको पुनः मतगणना माग गरिएका रिट खारेज
सर्वोच्च अदालतले २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको रुपन्देही-२, इलाम-२ र धनुषा-२ को पुनः मतगणना माग गरिएको रिट खारेज गरेको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र सुष्मालता माथेमा सम्मिलित संवैधानिक इजलासले बुधबार तीन वटै रिट खारेज गरेको हो।
धनुषा-२ मा रामकृष्ण यादवसँग १५७ मतले पराजित उमाशंकर अरगरिया, रुपन्देही-२ मा विष्णु पौडेलसँग एक हजार ३६६ मतले हारेका गणेश पौडेल र इलाम-२ मा सुवासचन्द्र नेम्बाङसँग ११४ मतले पराजित डम्बर खड्काले पुनः मतगणनाको माग सहित छुट्टाछुट्टै रिट दायर गरेका थिए।
इलाम-२ मा एमालेका नेम्बाङ ३० हजार २० मत प्राप्त गरेर विजयी हुँदा कांग्रेसका खड्काले २९ हजार ९०६ मत पाएका थिए। त्यस्तै, धनुषा-२ मा कांग्रेसका यादव २० हजार ११२ भोट सहित विजयी हुँदा एमालेका अरगरियाले १९ हजार ९५५ भोट ल्याएका थिए।
रुपन्देही-२ मा एमालेका विष्णु पौडेल २७ हजार १६५ मत पाएर निर्वाचित हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल २५ हजार ७९५ मत सहित दोस्रो स्थानमा आएका थिए।
यस्तै, पूर्व प्रधानमन्त्री झलनाथ खनालले २०७९ सालमा भएको इलाम-१ को निर्वाचन बदर गर्न माग गरिएको रिट भने स्थगन भएको छ। तत्कालीन सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी)का नेता खनालले २३ हजार ८९ मत पाएका थिए। खनाललाई पराजित गरेका एमालेका महेश बस्नेतले २५ हजार ७५३ भोट पाएका थिए।