जितले पनि जोगिएन मधेश, आर्मी फाइनलको दौडमा
![जितले पनि जोगिएन मधेश, आर्मी फाइनलको दौडमा](https://www.himalkhabar.com/uploads/posts/800X600/trobhuwan-army-club-1706442666.jpg)
अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई पराजित गरे पनि मधेश प्रदेश फाइनलको दौडबाट बाहिरिएको छ भने त्रिभुवन आर्मी क्लब नजिक पुगेको छ।
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा मधेश प्रदेशले लुम्बिनीलाई नौ रनले पराजित गरेको हो। मधेशले दिएको १७० रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी १६० रनमै समेटियो।
लुम्बिनीका लागि प्रज्वल थापाले अर्धशतक प्रहार गरे। उनले ७९ बलमा चार चौका र तीन छक्काको मद्दतले ६२ रन बनाए। उनी टिकेर खेले पनि अर्कातिर लगातार विकेट झर्दै गए।
त्यस्तै, अभिषेक गौतमले २६, दिल्साद अलीले २२ र मृनाल गुरुङले २१ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
मधेशका लागि प्रदीप पासवानले ६ विकेट लिए। उनले नौ ओभरमा ३० रन मात्रै खर्चिए। त्यस्तै, अभिषेक तिवारीले दुई, रूपेश सिंह र हरिशंकर साहले एक-एक विकेट लिए।
![madesh_lumbini_crick_1-1706442548.jpg](https://www.himalkhabar.com/uploads/posts/madesh_lumbini_crick_1-1706442548.jpg?timestamp=1706442695954)
यो जितसँगै १२ अंक जोडेको मधेश अंकतालिकाको तेस्रो स्थानमा पुगेको छ। समान १२ अंक रहेका नेपाल प्रहरी क्लब र बागमती प्रदेश रनरेटका आधारमा शीर्ष दुई स्थानमा छन्। जित हासिल गरे पनि रनरेट सुधार्न नसक्दा मधेश पनि फाइलनको दौडबाट बाहिरिएको छ। अंकतालिकाको शीर्षस्थानमा रहेका दुई टोलीबीच फाइनलमा प्रतिस्पर्धा हुनेछ।
यस्तै, त्रिवि क्रिकेट मैदानमा भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई १६४ रनले पराजित गरेको छ। यो जितसँगै आर्मी क्लबको अंक मात्रै थपिएको छैन, रनरेट पनि सुधारिएको छ। १० अंक सहित चौथो स्थानमा रहेको आर्मी क्लबले अझै दुई खेल खेल्न बाँकी छ।
आर्मीले दिएको २८० रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली प्रदेश २९ ओभरमा ११५ रनमै समेटियो। कर्णालीका लागि कुनै पनि खेलाडीले टिकेर खेल्न सकेनन्।
आर्मीका लागि विवेक यादव र कुशल मल्लले तीन-तीन, सोमपाल कामीले दुई र शहाब आलमले एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको आर्मीले पाँच विकेटको क्षतिमा २७९ रन बनाएको थियो। आर्मीका लागि कप्तान विनोद भण्डारीले १३२ बलमा ६ चौका र तीन छक्काको मद्दतले शतक पूरा गरेका थिए।
त्यस्तै, बसीर अहमदले ९८ रन बनाए। उनले ९२ बलमा १२ चौका र एक छक्का प्रहार गरे। कर्णालीका लागि दीपेन्द्र रावतले दुई, प्रकाश जैसी, दिनेश अधिकारी र दिवान पुनले एक-एक विकेट लिए।
सोमबार सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लब तथा गण्डकी र नेपाल प्रहरी क्लबबीच प्रतिस्पर्धा हुनेछ।