मन्त्री फेरबदल गर्ने प्रधानमन्त्री दाहालको संकेत
प्रधानमन्त्री पुष्पकमल दाहालले छिटै मन्त्रीहरू फेरबदल गर्ने संकत गरेका छन्।
नेकपा (माओवादी केन्द्र)को ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गत मोरङको मिक्लाजुङ गाउँपालिकामा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले परिणाम नआए मन्त्री फेर्ने बताएका हुन्। दाहाल प्रधानमन्त्री भएको पुस १० गते एक वर्ष पुग्दै छ।
त्यसपछि नयाँ ढंगले काम गर्ने उनको भनाइ थियो। पुस १० मा विशेष सम्बोधन गर्ने बताउँदै प्रधानमन्त्री दाहालले भने, “त्यसपछि नयाँ प्रक्रियाबाट जनताका काम गर्छु।”
आज बिहान सुनसरीमा आयोजित कार्यक्रममा पनि प्रधानमन्त्री दाहालले यस्तै अभिव्यक्ति दिएका थिए। इनरुवा सबस्टेशन उद्घाटन समारोहमा बोल्दै उनले आफ्नो कार्यकालको दोस्रो वर्षको काम क्रमभंगताबाट गर्ने बताएका थिए।
“म प्रधानमन्त्री भएर तेस्रो कार्यकाल शुरू गरेको एक वर्ष पूरा हुँदै छ। एक वर्ष पूरा भएपछि मैले नयाँ ढंगले केही धक्का दिएर काम शुरू गर्दै छु,” प्रधानमन्त्री दाहालले भने, “म साँच्चै क्रमभंग गर्दै छु अर्को।”
यस पटक क्रमभंग गर्दा आमनेपाली जनताको साथ हुने विश्वास लिएको प्रधानमन्त्री दाहालको भनाइ थियो।