मोरक्को भूकम्प : मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो
![मोरक्को भूकम्प : मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो](https://www.himalkhabar.com/uploads/posts/800X600/Earthquake_(1)_1694315626.jpg)
मोरक्कोमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ।
अल जजीराका अनुसार हालसम्म मृतकको संख्या दुई हजार १२ पुगेको छ भने घाइते हुनेको संख्या दुई हजार ५९ पुगेको छ। त्यहाँको आन्तरिक मामिला मन्त्रालयका अनुसार एक हजार ४०० भन्दा बढी मानिस गम्भीर घाइते भएका छन्।
६.८ म्याग्निच्यूडको भूकम्पको केन्द्रबिन्दु मर्राकेश शहरभन्दा ७१ किलोमिटर दक्षिणपश्चिममा अवस्थित एटलस हिमालमा रहेको छ। सन् १९६० को मार्चमा ५.८ म्याग्निच्यूडको भूकम्प गएयता मोरक्कोमा यति शक्तिशाली भूकम्प गएको थिएन। १९६० को भूकम्पमा परी १२ हजारभन्दा बढीको ज्यान गएको थियो।
शुक्रबारको भूकम्पयता पनि मोरक्कोमा कैयौं पराकम्प गइसकेका छन्। भूकम्पका कारण माटो, ढुङ्गा र काठबाट बनेका दुर्गम हिमाली क्षेत्रका साधारण घर पूर्णतया ध्वस्त भएको हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। यद्यपि क्षतिको पूर्ण विवरण प्राप्त हुन केही समय लाग्ने बताइएको छ।
राजा मोहम्मद छैटौंले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेका छन्। भूकम्पको झट्का पोर्चुगल र अल्जेरियासम्म पनि महसूस गरिएको थियो।