एशिया कपमा आज बाङ्लादेश र श्रीलंका भिड्ने
एशिया कप अन्तर्गत आज बाङ्लादेश र श्रीलंका भिड्ने भएका छन्।
खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बाट शुरू हुनेछ। बाङ्लादेश शकिब अल हसनको कप्तानीमा र श्रीलंका दसुन शनाकाको कप्तानीमा मैदानमा उत्रनेछन्।
यस पटकको एशिया कप ‘हाइब्रिड मोडल’ मा सञ्चालन भएकाले यो खेल श्रीलंकाको पल्लिकेली रङ्गशालामा हुनेछ। यसअघि हिजो भएको पाकिस्तान र नेपालबीचको खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा भएको थियो।
प्रतियोगितामा बाङ्लादेश र श्रीलंका समूह ‘बी’ मा छन्। यी टोलीसँगै यो समूहमा अफगानिस्तान पनि छ।
नेपाल, भारत र पाकिस्तान समूह ‘ए’ मा छन्। नेपाल विरुद्धको खेलमा जित हात पारेसँगै पाकिस्तान दुई अङ्क सहित समूह ‘ए’ को शीर्ष स्थानमा छ।
पाकिस्तानले शनिबार चिरपरिचित प्रतिद्वन्द्वी भारतको सामना गर्नेछ।