तात्यो पृथ्वी, मापन भयो हालसम्मकै उच्च औसत तापक्रम
सन् १८८० को दशकदेखि मौसमबारे आधुनिक ढङ्गले तथ्याङ्क सङ्कलन गर्न थाले यता समष्टिगत रूपमा पछिल्लो आठ वर्ष पृथ्वीको तापक्रम सबैभन्दा उच्च छ।
अमेरिकाको न्याशनल सेन्टर फर इन्भाइरोमेन्टल प्रेडिक्शनको तथ्याङ्क अनुसार गत सोमबार (३ जुलाई) पृथ्वीको औसत तापक्रम १७.०१ डिग्री सेल्सियस पुगेको थियो। यो भनेको हालसम्म मापन गरिएको सबैभन्दा उच्च औसत तापक्रम हो।
यसअघि अगस्ट २०१६ मा पृथ्वीको औसत तापक्रम १६.९२ डिग्री सेल्सियस मापन गरिएको थियो। यो ग्रीष्ममा पृथ्वीको धेरै स्थानको तापक्रम ४० डिग्री सेल्सियसमाथि पुगेपछि औसत तापक्रम पनि बढेको हो। बढ्दो गर्मीकै कारण थुप्रैको ज्यान समेत गएको छ।
हालसम्म पृथ्वीको सतहमा आधिकारिक रूपमा मापन गरिएको अधिकतम तापक्रम ५६.७ डिग्री सेल्सियस हो। सन् १९१३ मा क्यालिफोर्नियाको डेथ भ्यालीमा उक्त तापक्रम मापन गरिएको थियो। अफ्रिका महादेशमा सबैभन्दा उच्च तापक्रम भने सन् १९३१ मा ट्युनिसियाको केबिली भन्ने स्थानमा ५५ डिग्री सेल्सियस मापन गरिएको थियो।
एशियाको हकमा इरानमा सन् २०१७ मा सबैभन्दा उच्चतम तापक्रम मापन गरिएको थियो। त्यति खेर इरानमा तापक्रम ५४ डिग्री सेल्सियस पुगेको थियो। यूरोपमा ११ अगस्ट २०२१ मा इटालीको सिसिली टापुमा मापन गरिएको ४८.८ डिग्री सेल्सियस हालसम्मकै उच्च हो।
सन् २०२० मा अन्टार्टिका महादेशको सेमौर टापुमा मापन गरिएको २०.७ डिग्री सेल्सियस त्यहाँको अहिलेसम्मकै उच्च तापक्रम हो। संयुक्त राष्ट्रसंघको मौसम विज्ञान संगठनका अनुसार अन्टार्टिक प्रायद्वीपको तापक्रम पछिल्लो ५० वर्षमा तीन डिग्री सेल्सियसले उकालो लागेको छ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासालाई उद्धृत गर्दै अल्जजीराले लेखेको छ- सन् १८८० को दशकदेखि मौसमबारे आधुनिक ढङ्गले तथ्याङ्क सङ्कलन गर्न थालेयता समष्टिगत रूपमा पछिल्लो आठ वर्ष पृथ्वीको तापक्रम सबैभन्दा उच्च छ।
यसको सोझो अर्थ हो- पृथ्वी तातिरहेको छ।