मेस्सी र रामोस पीएसजीबाट बिदा
![मेस्सी र रामोस पीएसजीबाट बिदा](https://www.himalkhabar.com/uploads/posts/800X600/messi_ramos_1685845939.jpg)
अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सी फ्रेन्च क्लब पीएसजीबाट बिदा भएका छन्।
अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का लागि अन्तिम खेल खेलेका छन्। गएराति भएको ‘लिग वान’ को अन्तिम खेल खेल्दै मेस्सी पीएसजीबाट बिदा भएका हुन्।
सो खेलमा पीएसजी ३-२ गोल अन्तरले क्लेरमोन्टसँग पराजित भयो। यद्यपि एक खेल अगावै पीएसजी लिग वान विजेता भइसकेको थियो।
अन्तिम खेलमा मेस्सीले गोल गर्न सकेनन्। उनलाई खेलको शुरूमा पीएसजीका समर्थकले ‘बू’ (निन्दा) समेत गरेका थिए।
मेस्सीले पीएसजीबाट ७५ खेल खेल्दै ३२ गोल गरे। उनी १६ ‘असिस्ट’ सहित लिग वान २०२२/२३ सिजनमा सर्वाधिक ‘असिस्ट’ गर्ने खेलाडी पनि बने।
पीएसजीमा दुई सिजन बिताएका मेस्सीले दुवै सिजनमा लिग वानको उपाधि जिते। एक ‘ट्रफी देस च्याम्पियन्स’ पनि जिते।
मेस्सी र पीएसजीबीच ३० जूनसम्मको सम्झौता छ। यद्यपि पीएसजीले एक विज्ञप्ति जारी गर्दै सात पटकका ‘बलोन डी ओर’ विजेता मेस्सीलाई धन्यवाद ज्ञापन गरिसकेको छ।
“फ्रान्सको राजधानीमा दुई सिजनपछि, पीएसजीसँगको लियो मेस्सीको साहसपूर्ण यात्रा २०२२/२३ को अभियानसँगै अन्त्य हुनेछ,” पीएसजीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
मेस्सीका लागि हाल दुई विकल्प खुला छ। अमेरिकी क्लब इन्टर मियामी वा साउदी अरेबियन क्लब अल हिलाल उनको सम्भावित गन्तव्य हुन सक्छ।
यस्तै, स्पेनका दिग्गज खेलाडी सर्जियो रामोसको पनि पीएसजीसँगको यात्रा टुङ्गिएको छ। रामोसले अन्तिम खेलमा १६औं मिनेटमा हेडर मार्फत गोल गरे। ३७ वर्षीय रामोसले पीएसजीका लागि ५७ खेल खेले।