नेपाल काभा च्यालेन्ज कपको सेमिफाइनलमा

नेपाल लगातार दोस्रो जित निकाल्दै एनएससी-काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा पुगेको छ।
राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कभर्डहलमा मंगलबार भएको खेलमा नेपालले बाङ्लादेशलाई ३-० को सोझो सेटमा पराजित गरेको हो। यो जितसँगै नेपाल एक खेल बाँकी छँदै सेमिफाइनल प्रवेश गर्न सफल भएको छ।
नेपालले बाङ्लादेशलाई पहिलो सेट २५-१० हराएको थियो। दोस्रो सेट २५-८ र तेस्रो सेट २५-९ ले जितेको हो।
समूह ‘ए’ मा रहेको नेपालले ६ अङ्क जोडेको छ। समान ६ अङ्क नै जोडिएको भारत पनि यो समूहबाट सेमिफाइनल प्रवेश गरेको छ।
अहिलेसम्म दुवै खेलमा पराजित बाङ्लादेश र किर्गिस्तान भने समूह चरणबाट बाहिरिएका छन्। नेपालले पहिलो खेलमा सोमबार किर्गिस्तानलाई हराएको थियो।
अब नेपालले तेस्रो खेलमा बुधबार भारतको सामना गर्नेछ। भारत र नेपालको खेलबाट समूहको विजेता र उपविजेताको टुङ्गो लाग्नेछ।
नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।