अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत
नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान झन्डै ८१ प्रतिशत रहेको एक अध्ययनले देखाएको छ।
नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)सँगको सहकार्यमा सार्वजनिक गरेको ‘द स्टेट अफ प्राइभेट सेक्टर’ अध्ययनले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको देखाएको हो।
नेपालको रोजगारीमा निजी क्षेत्रको ८५ प्रतिशत योगदान रहेको यो अध्ययन प्रतिवेदनले उल्लेख गरेको छ। निजी क्षेत्रका रूपमा गार्हस्थ्य घरपरिवारको आम्दानीलाई पनि गणना गरिएको छ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले अर्थतन्त्रमा पुर्याएको योगदानबारे पहिलो पटक अध्ययनले देखाएको बताए। ढकालले यसबाट निजी क्षेत्रमैत्री नीति र व्यवहार गर्न सरकार लगायत सरोकारवालालाई मार्गनिर्देश गरेको बताए।
आईएफसीका नेपाल प्रतिनिधि बाबाकर सेद्ख फायले नेपालमा कुल गार्हस्थ्य उत्पादनमा निजी क्षेत्रको भूमिकाबारे यो नै पहिलो अध्ययन भएको बताए।
नेपालका ५१७ फर्मलाई सर्वेक्षणमा सहभागी गराएर अध्ययन गरिएको थियो।