विदेश पढ्न जाने विद्यार्थीले दैनिक लैजान्छन् २५ करोड
प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार प्रतिनिधि सभाको बैठकमा विदेश जाने विद्यार्थीले लैजाने ठूलो रकमको आँकडा प्रस्तुत गरे।
प्रधानमन्त्री दाहालले चालू आर्थिक वर्षको पहिलो नौ महीना (साउन–चैत)मा विदेशका विश्वविद्यालय तथा कलेजमा पढ्न गएका नेपाली विद्यार्थीले ६७ अर्ब १९ करोड रुपैयाँ लगेको बताए। प्रधानमन्त्रीले बिहीबार संसद्मा प्रस्तुत गरेको तथ्याङ्क नेपाल राष्ट्र ब्यांकले यसअघि नै सार्वजनिक गरिसकेको थियो।
केन्द्रीय ब्यांकका अनुसार यो वर्ष हरेक दिन औसतमा झन्डै २५ करोड रुपैयाँ विदेश गइरहेको छ, नेपाली विद्यार्थी मार्फत। यो रकम गत वर्षको भन्दा ५४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको पहिलो नौ महीना (साउन-चैत)मा विदेश पढ्न जाने विद्यार्थीले ४३ अर्ब ६७ करोड रुपैयाँ मात्रै लगेका थिए।
पछिल्ला वर्षमा नेपाली विद्यार्थीको वैदेशिक अध्ययनको क्रम बढ्दै गएको छ। कोभिड–१९ का वेला रोकिएको भए पनि महामारी मत्थर भएसँगै तीव्र बनेको छ।
बितेका दुई वर्षको तुलना गर्दा वैदेशिक अध्ययनार्थ विदेशिएको रकम अचाक्ली बढिसकेको छ। आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महीना (साउन–चैत)मा विदेश गएका विद्यार्थीले २१ अर्ब १७ करोड रुपैयाँ मात्रै विदेश लगेका थिए। दुई वर्षभित्रै यस्तो रकममा तीन गुणा वृद्धि भइसकेको देखिएको छ।
पछिल्लो नौ महीनामा (२०७९ साउन–चैत)मा ८१ हजार ५०० विद्यार्थीले विदेशका शैक्षिक संस्थामा पढ्नका अनुमतिपत्र (नो अब्जेक्शन लेटर) लिएका थिए। गत आर्थिक वर्ष २०७८/७९ मा विदेशमा पढ्न अनुमति लिनेको संख्या एक लाख १४ हजार ४२९ पुगेको थियो।
नेपाली विद्यार्थीको सर्वाधिक आकर्षण अस्ट्रेलिया र जापानमा देखिएको छ। यी बाहेकका अन्य मुलुकमा पनि विद्यार्थी अध्ययनका लागि गइरहेका छन्। अध्ययनका लागि गएका विद्यार्थीले ठूलो रकम लगेको भनेर कतिपयले आलोचना गरे पनि त्यस्तो रकमको लाभ अन्ततोगत्वा देशले पाउँछ। नेपालमा आउने रेमिटेन्सको महत्त्वपूर्ण हिस्सा नेपाल विद्यार्थी गएका मुलुक हुन थालेका छन्।